धनगढीमा अव्यवस्थित विद्युतीकरणले बढायो सुरक्षा जोखिम
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ महिमा टोलमा बिहीवार विद्युत सर्ट भयो। स्थानीयले प्राधिकरणलाई पटकपटक फोन गरे। विद्युतका तार आपसमा ठोक्किएर आगो बल्दा पनि प्राधिकरणले प्राविधिक पठाएन।
बिदाको दिन कर्मचारी नभएको भन्दै प्राधिकरणले जबाफ दियो। बिहीवार दिउँसो २ बजे तारको आगो खेतमा झरेपछि गहुँ जलेर जष्ट भए। स्थानीय प्रकाश जोशीको ८ कट्ठामा लगाएको गहुँ काटेर थ्रेसर गर्न तयार राखिएको समयमा विद्युत सर्ट भएर आगो लागेपछि जलेर नष्ट भएको हो।
‘बिजुलीको तारमा आगो लाग्यो। हामीले विद्युतमा फोन गरेका थियौ.,’ उनले भने, ‘तर कर्मचारी छैन भन्नुभयो। आगो गहुँमा खस्यो। गहुँ सबै जलेर नष्ट भएको छ।’ धनगढीको महिमा टोल क्षेत्रमा विद्युतका तार एकआपसमा जोडिने समस्या छ। स्थानीयले तार आपसमा ठोक्किने र रुखमा पनि ठोक्किने गरेको भन्दै प्राधिकरणलाई खबर गर्दै आएका छन्।
तर नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रको बेवास्ताका कारण क्षति भएको छ। बिहीवार सर्ट भएर भुइमा खसेको तारमा विद्युत रहेकाले शुक्रबार एक स्थानीयलाई करेन्टसमेत लागेको स्थानीय रतनसिँह बोहराले बताए । बोहराले भने, ‘हामीले पटकपटक फोन गर्दा पनि उहाँहरु आउनु भएन। आफैँ बनाउनु भन्नुभयो।’
गर्मी मौसम सुरु भएसँगै धनगढीमा विद्युत सर्ट हुने क्रम बढ्दो छ। गत बिहीबार पनि धनगढीको चौराहमा बिजुलीको पोलमा आगलागी भएको थियो। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अगाडिको पोलमा पनि अघिल्लो बुधवार विद्युत सर्ट भएर आगो लागेको थियो।
विद्युत सर्ट भएर सल्किएको आगोबाट इन्टरनेट र टेलिफोनका तार जलेर नष्ट भएका थिए। गर्मी मौसम र विद्युतका पुराना संरचनाका कारण विद्युत सर्ट हुँदै आएको नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका निमित्त प्रमुखसमेत रहेका इन्जिनियर रोशनकुमार ठाकुरले बताए। उनले भने, ‘धनगढीको महिमा टोलमा विद्युत मर्मत गरेका छौं। धनगढीमा धेरै ठाउँमा विद्युतका तार सर्ट हुन थालेका छन्।’
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अव्यवस्थित विद्युतीकरणका कारण क्षति बढ्न थालेको हो। गर्मी सुरु भएसंगै विद्युतको अनियमित कटौती हुन थालेपछि क्षति बढ्न थालेको हो।