कैलालीमा एसपी अधिकारीको ९ महिना यस्तो रह्यो, के–के काम भए ?
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीको ९ महिनामै काज सरुवा भएको छ। निर्वाचन आचारसंहिता लागू भएपछि उनको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौमा काज सरुवा भएको हो। कैलाली बसाईको अन्तिम दिन बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ९ महिनाको कार्य प्रगति तथा अनुभव सुनाए। ९ महिनाको अवधिमा केही नयाँ कामको सुरुवात समेत गरेको उनको दाबी छ। ‘हाम्रा प्रहरीसँग हामी’, सेवाग्राहीको तथ्यांक, नागरिकबाट सुझाव संकलन, कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज लगायतका नयाँ काम गरेको उनले सुनाए।
९ महिनाको अवधिमा एसपी अधिकारीको गृहनगर समेत रहेको टीकापुर, लम्की र जानकी क्षेत्रमा भएका हत्याका घटनाहरु पनि उनले सम्झिए। कैलालीको लम्कीका भूपेन्द्र बडुवालको गत कात्तिक २३ गते भएको हत्या, टीकापुरमा भएको बालकको हत्या, जानकी गाउँपालिकाका अर्जुन दासको हत्या र मोहन्यालमा श्रीमानको हत्या लगायत उनले स्मरण गरे। दासको हत्यामा किटानी गरिएका युवाहरु फरार छन्। बडुवालको हत्यामा संलग्न रहेका १३ जना पूर्वपक्षमा छन्। उनका अनुसार जिल्लामा १४ मुद्दा कर्तव्य ज्यानका दर्ता भएका छन्। कर्तव्य ज्यानका सबै मुद्दामा सफल भएको एसपी अधिकारीले दाबी गरे।
यस्तै ९ महिनाको अवधिमा लागूऔषधका एक सय ११ मुद्दा दर्ता भएका छन्। सोही प्रकारको मुद्दामा एक सय ६१ पुरुष र ९ महिला पक्राउ परेका छन्। गत वर्ष लागूऔषधका ७६ मुद्दा मात्र दर्ता भएका थिए। यो तथ्यांक अनुसार जिल्लामा लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढेको देखिएको छ।
यस्तै विगत ९ महिनामा फरारको सूचीमा रहेका ९१ जना पक्राउ परेका छन्। गत वर्ष ७० जना परेका थिए। ९ महिनामा एक करोड २० लाख ७५ हजारको भन्सार छलिको सामग्री बरामद गरिएको छ। गत वर्षको ९ महिनाको तुलनामा यो धेरै हो।
एसपी विश्व अधिकारीले राष्ट्रिय सभाको निर्वाचन, धनगढीमा भिआइपीहरुको सुरक्षा, पार्टीहरुका कार्यक्रमहरु पनि सम्झिएका छन्। जिल्लाका ६४ वटा कार्यालयका एक हजार दुई सय प्रहरीको व्यवस्थापन र परिचालनमा नयाँ काम भएको दाबी अधिकारीको छ।
एसपी अधिकारीको दरबन्दी कैलालीमै छ। कैलालीमा दरबन्दी रहेपनि उनको काज सरुवा काठमाडौं भएको हो। ‘अब जिल्लामा मेरो ब्याची सुरेन्द्र सिँह राठोर आउँदै हुनुहुन्छ। मलाई जस्तै उहाँलाई पनि सहयोग गर्नुहोला’ जाँदाजाँदै उनले भने, ‘म फेरि आउने छु। फेरि हाम्रो भेट हुनेछ। कैलालीबाट तलब खाने भएकाले मेरो भाइब्रेट रहनेछ।’