सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

२०७८ चैत्र २२, १२:२२ खबर संवाददाता

धनगढी: ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथी अस्पतालले साथ दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो। अघिल्ला दुई संस्करणमा पनि धनगढीमा रहेको सारथी अस्पतालले प्रायोजन गरेको थियो।

स्पोर्टस अवार्डमा दिइने ८ वटा विधा मध्येको बर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो। अब यो विधाको नाम सारथी अस्पताल वर्ष प्रशिक्षक रहने छ। यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ। विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे।

अवार्डमा सुरुदेखि जोडिएकोले यसपालि पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए। उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन्। त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ। 

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

कमेन्ट लोड गर्नुस