कञ्चनपुरका किसानले उखु बिक्री नगर्ने
कटान अनुमती र सरकार आफँैले निर्धारण गरेको न्यूनतम मूल्य समेत नपाएर समस्यामा परेका कञ्चनपुरका किसानहरुले अव उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका छन्। विहिवार कञ्चनपुरको बेलौरीमा भेला हुँदै किसानहरुले सरकारले निर्धारण गरेको न्यूनतम मूल्य र सहज रुपमा कटान अनुमती नपाएसम्म उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका हुन्। विहिवार सम्म कटान गरिएको उखु चिनी मिलमा विक्री गर्ने र विहिवारदेखि नै समस्या समाधान नभए सम्म कटान नै बन्द गर्ने निर्णय भएको उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका अध्यक्ष हरि चन्द ठकुरीले बताए।
चिनी मिल र बिचौलीयाको चंगुलमा परेका कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु किसानहरुले अव संगीठीत हुँदै आफ्ना समस्या समाधानका लागि पहल गर्न सुरु गरेको किसान मान वहादुर चन्दले बताए। चिनी मिलहरुले सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्यमा प्रतिक्विन्टल १ सय २५ रुपैँया सम्म घटाएर खरिद गर्न थालेका छन् भने नेपाली किसानहरुलाई उखु कटानका लागि अनुमती पाउन पनि ठुलै समस्या हुने गरेको छ। तिनै समस्या समाधानका लागि जिल्लाको बेलौरी, बेल्डाडी, लालझाडी र पुनरवास नगरपालिकाका झण्डै ५ सय जना किसानहरुको भेलामा आफ्नै समस्या समाधानका लागि छलफल भएको हकहित संरक्षण समितिका अध्यक्ष ठकुरीले बताए।
सरकारले उखुको मूल्य एउटा मात्रै तोकेपनि चिनी मिलहरुले आफुखुसी उखुको बर्गिकरण गरि फरक–फरक तीन प्रकारका मूल्य तोकेकाले सरकारको निर्णय उखु मिलहरुले पालना गर्नुपर्ने सर्त किसानहरुको छ। उनीहरुले कटान अनुमतीमा विचौलीयाहरुको रजाई भएकाले किसानहरुले सहज रुपमा अनुमती पाउनुपर्ने पनि माग गरेका छन्। चिनी मिलहरुबाट उखु कटानको अनुमती नपाएर धेरै नेपाली किसानले उखु काट्न पाएका छैनन् भने भारतबाट धमाधम उखु भित्रीरहेको छ। सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गरेपनि कञ्चनपुर जिल्लाका किसानहरु भने झण्डै १ सय २५ रुपैँया कम मूल्यमा उखु विक्री गर्न बाध्य छन्। नेपाली किसानले कटानको अनुमती नपाएको अवस्थामा बिचौलीया मार्फत भारतीय किसानहरुले उखु कटानको अनुमती पाईरहेका छन्। जस्ले किसानहरुले लगाएको उखु पनि काट्न पाएका छैनन् भने यो सिजनमा गहुँ खेती पनि लगाउन छुटेको छ।
उखु किसानहरुको हकहितका लागि विभिन्न स्थानमा खोलिएका संरक्षण समिति र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि किसानहरुको भेलामा सहभागिता रहेको थियो। दक्षिणी क्षेत्रका चार वटै स्थानीय तहका जनप्रतिनिधिहरुले चिनी मिलहरुलाई सरकारको निर्णय कार्यान्वयन गर्न दवाव दिने पनि आश्वासन दिएका छन्। स्थानीय तहले चिनी मिललाई सहज रुपमा कटान अनुमती दिन र सकरारले तोकेको मूल्यमै उखु खरिद गर्न आग्रह गर्ने तयारी भईरहेको कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष हरीलाल चौधरीले बताए।