नेपालद्वारा पीएनजीलाई २७९ रनको लक्ष्य
काठमाडौंः दीपेन्द्रसिंह ऐरीले शतक बनाएपछि पीएनजीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २७९ रनको लक्ष्य पेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको हो।
दीपेन्द्रसिहले १०५ रन बनाए। उनले १४० बलमा सात चौका प्रहार गरे। दीपेन्द्रसिंहले १३६ बलमा शतक पूरा गरेका थिए। उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन्। दीपेन्द्रसिंहले यसअघि देब खनालसँग नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी गरेका थिए।
देब र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका हुन्। नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सबैभन्दा ठूलो साझेदारी हो। देब खनालले ७२ रन बनाए। रोहितकुमार पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाए। कप्तान सन्दीप २४ रनमा अविजित रहे।
पीएनजीका एलेई नाओले ३ विकेट लिए। नोर्मान भनुवाले दुई विकेट लिँदा चाद सोपर र चार्लेस एमिनीले १र१ विकेट लिए।