सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सफल हुँदै जङ्गली मेलमा नास्पाती फलाउने योजना

२०७८ चैत्र १२, ०७:०९ कमल सावद

धनगढी : बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ। कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाइने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको थियो। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना सफल भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए।

कृषि ज्ञान केन्द्र बाजुराले दुई आर्थिक वर्षमा नासपती, स्याउ, ओखर लगायतका बिरुवामा अनुदान दिदै आएको पनेरुले बताए। उनका अनुसार ज्ञान केन्द्रले दुई आर्थिक वर्षमा जिल्लामा झण्डै ६० हजार बिरुवा रोपेको छ। पनेरुले भने, ‘यसअघि नै मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलेपछि जाम पनि निकालेका थियौं। गत वर्ष गरिएको कलमीमा अर्को वर्ष फल लाग्नेछ।

चालू आर्थिक वर्षमा पनि जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा ४ हजार पाँच सय, हिमाली गाउँपालिकामा एक हजार तीन सय र छेडेदह गाउँपालिकामा एक हजार तीन सय बिरुवाहरु रोपिएका छन्। चिसो मैसममा कृषि ज्ञान केन्द्रको एक लाखको अनुदान तथा प्राविधिक सहयोगमा बिरुवा रोपिएका हुन्। बाजुरा भोकमरी हुने जिल्लाको रुपमा परिचित छ। जिल्लामा उत्पादन हुन फलफूलको जुस बनाएर बिक्री गर्न सके आर्थिक रुपमा मजबुद हुने दाबी गरिएको छ। 

जिल्लामा रोपिएको इटालियन स्याउको खेती समेत सफल भएको दाबी कृषि ज्ञान केन्द्रका प्रमुख पनेरुको छ। स्थानीय किसान नयन बोहराका अनुसार कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा एक हजार बिरुवा इटालियन स्याउ रोपेका छन्। गत आर्थिक वर्षमा रोपिएका इटालियन स्याउका बिरुवा फल दिन तयार भएका छन्। ‘स्याउका बिरुवामा कोपिला लागेका छन्,’ उनले भने, ‘चैतको अन्तिम साताबाट स्याउका बिरुवामा फूल लाग्न सुरु हुनेछ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस