उच्च अदालत दिपायलद्वारा भर्चुअल विधिबाट सुनुवाइ सुरु, कैदीले पनि बहस हेर्न र सुन्न पाउने
धनगढी: उच्च अदालत दिपायलले भर्चुअल प्रविधिबाट सुनुवाइ सुरु गरेको छ। सोमबार कैलाली बार एकाई, कारागार कार्यालय कैलाली र उच्च अदालत दिपायलको इजलासमा उच्च प्रविधियुक्त क्यामेरासहितको टिभि डिस्प्ले जडान गरेर भर्चुअल सुनुवाइ पद्धति सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानूनी सहायता परियोजना अन्तरगत उच्च अदालतले उक्त प्रविधिको स्थापना गरेको हो। प्रविधिको प्रयोगबाट न्यायमा जनताको सहज पहुँच पु¥याउन र प्रभावकारी रुपमा न्याय सम्पादन गर्न मद्दत पुग्ने उच्च अदालत दिपायलका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए।
कैलाली जिल्ला कारागारमा पनि कैदी बन्दीहरूले पक्षमा हुने भर्चुअल बहस हेर्न र सुन्न पाउने भएका छन्। कारागारमा पनि भर्चुअल बहस हेर्न र सुन्नका लागि उपकरण जडान गरिएको कैलाली जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष सिद्धराज ओझाले बताए।
कानूनतः उच्च अदालत प्रदेश राजधानी रहेको स्थानमै हुनुपर्ने व्यवस्था छ। तर सुदूरपश्चिम प्रदेशमा भने उच्च अदालत दीपायलमा रहेको छ। उच्च अदालत दिपायलको कञ्चनपुरमा महेन्द्रनगर इजलास रहेको छ भने सबैभन्दा धेरै मुद्दा भएको कैलाली जिल्लाका कानूनका पक्षले बहस पैरवीका लागि कानून व्यवसायीसमेत लगेर दीपायल जानुपर्ने बाध्यता रहेको थियो।
पानी परेको, हिउँदमा हिउँ परेको र अन्य कुनै कारणले सडक अवरूद्ध भएको अवस्थामा मुद्दाका पक्षले सास्ती भोग्नु परेको छ। तर अब भने कैलालीका मुद्दाका पक्षलाई आर्थिक र अन्य हिसाबले सहज हुने र जिल्ला अदालतबाट भएका फैसला उपर पुनरावेदनमा जाने क्रम पनि बढ्ने कैलाली जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष ओझाले बताए।