सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको धार नेपालतिर फर्काउन धमाधम तटबन्ध, दलहरू भन्छन्, `सामान्य कुरा हो´

फोटो : कान्तिपुर
फोटो : कान्तिपुर
२०७८ चैत्र ८, ०७:१२ नारायण अवस्थी

धनगढी : दार्चुला जिल्ला सरदरमुकाम खलंगाको पारि भारतको उत्तराखण्ड राज्यको धार्चुला छ। नेपालको दार्चुला र भारतको धार्चुला भएर सीमा नदी महाकाली बग्छ। महाकाली नदीमा २०७० मा ठूलो बाढी आएको थियो।

त्यो बाढीमा भारततर्फ बनाइएको तटबन्धको कारण कुनै क्षति भएन भने नेपालको बागांबगरदेखि दत्तुसम्मको क्षेत्रमा व्यापक कटान भयो। नेपालको सयौं रोपनी जग्गा महाकालीको बगरमा परिणत भयो।

त्यसपछि नेपालतर्फ तटबन्ध गर्न लाग्दा भारतीय पक्षले अबरोध गरेको थियो। तर अहिले भारतले नेपालतर्फ महाकाली नदीको धार सोझ्याएर बगरको ९ मिटर वर आएर तटबन्ध निर्माण गर्न लाग्दा स्थानीय प्रशासन, सबै राजनीतिक दल र संघीय सरकार पनि मौन रहेको दार्चुलाको बागांबगरका स्थानीय लालसिंह धामीले दिनेशखबरलाई बताए।

'भारतले नदीमा एक्स्काभेटर लगाएर पानी नेपालतर्फ फर्काइरहेको छ,' उनले भने, 'भारतले एक पक्षीय तटबन्ध बनाउँदा पनि कुनै पनि राजनीतिक दल, स्थानीय प्रशासन र संघीय सरकार केही बोलेका छैनन्।' भारतले महाकालीको पूरै पानी नेपालतर्फ मात्रै बग्ने गरी एक्स्काभेटर लगाएर ढुङ्गा बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन्।

स्थानीयले पटकपटक वारिबाट बिरोध गरे पनि भारतीय पक्षले निरन्तर तटबन्धको काम गरिरहेको छ। स्थानीयले राजनीतिक दलहरू मौन रहेको आरोप लगाएका छन्। तर नेपाली काँग्रेसले भने भारतले आफ्नोतर्फ तटबन्ध गर्नु समान्य कुरा भएको जनाएको छ। भारतले धार्चुलातर्फ तटबन्ध गर्न खोज्नु सामान्य भएको नेपाली काँग्रेस दार्चुलाका सभापति ललितसिंह धामीले दिनेशखबरलाई बताए।

'भारतले आफ्नोतर्फ तटबन्ध गरिरहेको छ,' उनले भने, 'यो विषयमा राजनीतिक दलले बोलेर के हुन्छ।' भरतीय पक्षको एकतर्फी कदमको स्थानीयले मात्रै होइन नेकपा एमालेले भने खुलेर बिरोध गरेको दाबी गरेको छ। संघिय सांसद गणेशसिंह ठगुन्नाले परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण गराएको र स्थानीयस्तरमा नेता कार्यकर्ताले खुलेर बिरोध गरको दाबी नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीको छ।

'हामीले सीमा अतिक्रमण र महाकाली नदीमा भारतले तटबन्ध गरिरहेको विषयमा परराष्ट्र मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण डेढ महिना अगाडि नै गरेको हो,' उनले भने, 'नेकपा एमालेका स्थानीय नेता र कार्यकर्ताले यो विषयमा खुलेर बिरोध गरेका छन्।' स्थानीय प्रशासनले भने भारतीय पक्षसँग तटबन्धको विषयमा समन्वय भइरहेको जनाएको छ।

दुबै पक्षले आपसमा समन्वय गरेर नेपालतर्फ कुनै पनि असर नहुने गरी काम गर्न समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले दिनेशखबरलाई बताए। 'तटबन्धको विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको छ,' उनले भने, 'नेपालतर्फ समस्या नहुने गरी काम गर्नुपर्छ भनेर स्थानीय प्रशासनले समन्वय गर्ने प्रयास गरेको छ।'

भारत र नेपालको सीमाना भएर बग्ने महाकाली नदीमा बर्सातमा हरेक वर्ष बाढी आउने गरेको छ। नेपालतर्फ सबै ठाउँमा पक्की तटबन्ध नहुँदा हरेक वर्ष नेपालको सयौं रोपनी जग्गा कटान हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस