सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पटका भित्रिने क्रम रोकिएन, नाकामा बढाइयो निगरानी

२०८३ कार्तिक २२, ०९:१० खबर संवाददाता

धनगढी: कानुनी प्रतिबन्धका बाबजुद सुदूरपश्चिमका सीमावर्ती जिल्लामा अवैध पटका भित्रिने क्रम रोकिएको छैन। दसैँ–तिहार लक्षित सुरक्षा योजनाअन्तर्गत कैलाली र कञ्चनपुरमा मात्रै करिब २९ लाख ५५ हजार रुपैयाँ बराबरका पटका तथा पटाकाजन्य पदार्थ बरामद एवं नियन्त्रणमा लिइएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्थानबाट करिब पाँच लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले अवैध पटका नियन्त्रणमा लिएको जानकारी दिए। 

त्यस्तै, कञ्चनपुर प्रहरीले यसवर्ष करिब २४ लाख रुपैयाँ बराबरका पटका तथा पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको जनाएको छ। चाडपर्वका समयमा शान्ति–सुरक्षा कायम राख्न जिल्लामा ८४५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। थप सुरक्षाकर्मी आवश्यक परे अन्य सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। 

नेपाल सरकारले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पटाका तथा पटाकाजन्य पदार्थको उत्पादन, आयात, ओसारपसार, भण्डारण र बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ। तर, भारतसँग सीमा जोडिएका नाकाहरू हुँदै चाडपर्वका समयमा अवैध रूपमा पटाका भित्रिने क्रम भने रोकिएको छैन। 

पटाका पड्काउँदा आगलागी हुने, बालबालिकाको आँखामा झिल्का परेर चोटपटक लाग्ने तथा गर्भवती महिला, बिरामी र ज्येष्ठ नागरिकमा त्रास एवं मानसिक तनाव बढ्ने जोखिम हुन्छ। यसको चर्को आवाजले पशुपन्छीसमेत प्रभावित हुने गर्छन्। पटाकाको प्रयोगले वायु तथा ध्वनि प्रदूषणसमेत बढाउँछ। 

चाडपर्वका समयमा सम्भावित आपराधिक गतिविधि नियन्त्रण र शान्ति–सुरक्षा कायम राख्न कैलाली प्रहरीले पैदल गस्ती, सादा पोशाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा मोबाइल प्रहरी टोली परिचालन गरिरहेको जनाएको छ। दुई जिल्लामा ठूलो परिमाणमा पटाका बरामद हुनुले सीमावर्ती क्षेत्रमा अवैध पटाकाको ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको देखाएको छ।

कमेन्ट लोड गर्नुस