नेपालले पहिले बलिङ गर्ने, तीन खेलाडी परिवर्तन
काठमाडौंः नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिलो बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। त्रिदेशीय शृंखलामा नेपालको यो तेस्रो खेल हो। यसअघि यूएईविरुद्धको पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो।
नेपाललाई आज उक्त हारको बदला लिने अवसर छ। पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले बलिङ गरेको थियो। उक्त खेल पनि नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो। नेपालले यूएईविरुद्ध खेलेको पछिल्लो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। आसिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफले टोलीमा स्थान बनाएका छन्।
नेपाली टीमः
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, विनोद भन्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोम, पवन सर्राफ