सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

२०८३ मंसिर १, ०७:३४ खबर संवाददाता

धनगढी: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ। महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ।

सोमबार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको फाइनलमा अछामले दार्चुलालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। दार्चुला उपविजेतामा सीमित भयो। अछामले ३५ वर्षपछि पुरुष भलिबलमा स्वर्ण जित्न सफल भएको प्रशिक्षक सञ्जय भाटले जानकारी दिए। उनले यसलाई जिल्लाका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताए।

त्यस्तै, महिलातर्फ कैलालीले उपाधि जितेको छ। डडेलधुरा उपविजेता बनेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले कार्तिक २८ गतेदेखि प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले ३० वटा खेलमा खेलाडी छनोट गरिरहेको हो।

प्रदेश खेलकुद परिषद्का अनुसार कैलाली, कञ्चनपुर र डडेलधुरामा विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्। डडेलधुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सलगायत खेलका प्रतियोगिता सञ्चालन भएका थिए। कार्तिक ३० लगभग अधिकांश खेल सम्पन्न भएका छन्।

त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन भएकोमा अधिकांश खेल सम्पन्न भइसके। प्रदेशका नौ वटै जिल्लाबाट छनोट भएर आएका २ हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। जिल्ला तहबाट छनोट भएका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको टोलीमा समावेश गरिनेछ।

कार्तिक ३० गतेसम्म आइपुग्दा अधिकांश खेलका छनोट प्रतियोगिता सम्पन्न भएका छन्। अब फुटबल र क्रिकेटको फाइनललगायत केही खेलका प्रतिस्पर्धा भोली हुनेछ। बाँकी खेल सम्पन्न भएपछि दुईदेखि तीन दिनभित्र राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको अन्तिम खेलाडी नामावली सार्वजनिक गरिने प्रदेश खेलकुद परिषद्का सदस्य नवीन सिंहले जानकारी दिए। उनले चुनौतीका वाबजुद छोटो समयमै छनोट खेलहरू सभ्य तरीकारले सम्पन्न भएको बताए।

kailai first

कमेन्ट लोड गर्नुस