भारी हिमपातले रमाईलोसँगै निम्त्याएको सास्ती
किशोर खड्का
केही दिनको निरन्तरको वर्षा र हिमपातपछि आज सुदूरपश्चिमको मौसम खुलेको छ तर पहाडका केही भु–भागमा भने अझै मौसम बदली हुने जानकारी प्राप्त भएको छ। करिब ५ बर्षपछिको ठूलो हिमपात यो बर्ष भएको तथ्यांक बिभागको दावी छ भने भारी हिमपातले मानवीय भावनाहरु धेरै पोखिएको पनि छ सायद सामाजिक संजालको व्यापकताले होला ।
भारी मात्रामा हिमपात सुदूरपश्चिममा मात्र भएको छैन, देशैभरका हिमाली भेग र उच्च पहाडी भेगमा भएको छ। बाक्लो हिमपातका कारण कुनै ठाउँ प्रशस्त आय आर्जन गर्न सफल भएका छन् भने कतिपय ठाउँमा जनजिवन असाध्यै कष्टकर बन्न पुगेको छ।
हिमपातले खोड्पेमा अलपत्र परेका बझाङका क्रिया पुत्री किशोर विष्ट
हिमपात पश्चात सबैभन्दा पहिला राष्ट्रिय समाचार र सामाजिक संजालमा देशको केन्द्रिय राजधानी काठमाडौ वरपरका स्थानले महत्व पाए। फुलचोकी, दामनमा हिउँ खेल्न जानेहरुको लर्को, हिउँ खेल्न जानेहरुका कारण ट्राफिक जाम, होटेलहरु खचाखच भरिए, हिउँफुलको सुन्दरता यस्तै यस्तै।
विस्तारै देशका अन्य भू भागका समाचार तथा तस्विरहरु पनि आउन थाले। म धनगढी भएका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको अवस्थामा बढि चासो स्वभाविक रुपले हुने नैं भयो। हिमपातका कारण यात्रुहरु धनगढी महेन्द्रनगरमा अलपत्र, बिच बाटोमै गाडिहरु अडकिएको र यात्रुहरु जाडोमा कठयांग्रिएको।
बझाङ निबासी किशोर बिष्टले आफनो सामाजिक संजाल फेसबुकमा राखेको स्टयाटस र तस्विर निकै मर्मस्पर्शी लाग्यो, उनले लेखे, “बझाङमा चिलगाडि उडान गर्न फेसबुकका भित्ता रंगाउनेहरु मन्त्री पिए र सचीव भेटनेहरु कता हुनुहुन्छ ? म जस्तै चार पाँच सय बझांगी तिन दिन देखि अलपत्र छौं। खोपडे बझाङ सडक हिमपताले बन्द छ। एउटा डोजर लगाएर सडक खोलिदिन पाए हुन्थ्यो। न केहि खान मिल्छ न बस्ने ठाउँ नै छ। कि आगामी चुनावमा हामी बझाङबासी जनता चाहिन्नन ? काठमाडौका कोठामा चिसो लाग्योहोला, हिटर ताप्नुहोला ।”
हिमपात पश्चात मित्र लोकराज भट्ट, मोहन ओझा जि हरु पनि हिमपातको रमाईलो लिन धनगढीबाट डडेलधुरातिर गुडे। बिचबाटोमा पुगेपछि अकस्मात फेरी हिमपात भयो, करिब ३ दिन सम्म उहाँहरु सम्पर्क बिहिन झैं बन्नुभयो। यद्यपी उहाजस्तै हजारौं अन्य यात्रु तथा रमाईलो गर्न जानेहरु जोखिममा परे।
यो महसुस गर्ने नेताहरु र केही जिम्मेवार सांसदहरुले आफनो फेसबुक मार्फत पिडितहरुलाई राहतस्वरुप केहि शब्दहरु पनि खर्चिए। डोटीबाट समानुपातिक सांसद पूर्णा जोशि लेख्नुहुन्छ “हाम्रो प्यारो सुदूरपश्चिम सेताम्य छ लगातारको हिमपातले। पहाडी जिल्लाका मानिस र जैविक बिविधताको जनजीवन कस्टकर छ आशा छ आजबाट यो अवस्थामा क्रमशः सुधार हुदै जाने छ।” त्यसैगरी बझांङबाट प्रतिनिधित्व गर्ने सांसद आशा बिक लेख्नुहुन्छ, “हिमपातका कारण जनताले पाएको दुखलाई मध्य नजर गरेर भौतिक तथा यातायात मन्त्रालय र क्षेत्रिय सडक कार्यालयसँग निरन्तर समन्वयमा रहेर बाटो खोल्न पहल भएको छ, बझांगको बाटो अहिले खुल्दै छ।”
तस्विर :सामाजिक संजाल फेसबुकबाट
पहाडमा एउटा उखान छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको। यदि यो उखानलाई हामीले मानेका हौं भने, तिनै बुढापाकाले भन्ने गर्थे, साउन र भाद्रमा आकाश नदेखिए र पुस, माघमा धर्ति नदेखिए बल्ल त्यो बर्ष अनाज र प्रकृति र मानवको लागि फलिफाप हुन्छ। तर बुढापाकाका कुरा पनि समयसँगै ओईलाएकी जस्तो लाग्यो। पुस र माघ त के ४ दिन हिमपात हुँदा पनि आम जनजिवन कष्टकर भयो । धेरैले दुःख पाए। सुदूरपश्चिम यसै पिछडिएको, त्यसैमा प्रकृतिको निर्मम प्रहार। के अर्को वर्ष देखी हिमपात नहोस भन्ने कामना गर्ने हो त?
यस्तो पटक्कै हुनहुदैन। बुढापाकाको भनाई नै शत प्रतिशत सही छ भन्ने लाग्छ। त दोषी बाक्लो हिमपात हैन, हामी हौं। किशोर बिष्टले भन्नु भए जस्तै जहाजको सुविधा भईदिएको भए, २–४ दिन बाटो अबरुद्ध भए खासै समस्या हुदैन। त्यसैगरी प्रत्येक जिल्लामा तापक्रम मापन गरिने यन्त्रहरु राखिएका छन्। जाडो बढदैछ, हिमपात हुने सम्भावना रहन्छ भने किन धनगढी र महेन्द्रनगरबाट गाडिहरु छोडेको? अत्तरियामै रोकिदिए या यतैबाट नपठाए हुदैन? यति पनी पूर्व सर्तकता अपनाउन नसक्ने? अनि जिल्लामा तैनाथ बिभिन्न सुरक्षाकर्मीहरुले सजग भएर नबस्ने? सडक कार्यालयहरुले हिमपात पछयाउन डोजरहरु तयारी अवस्थामा नराख्ने ? दोष जति सबै सुदूरपश्चिम र प्रकृतिको मात्रै हो ? या हामीले सुदूरपश्चिमलाई उपेक्षा गर्यो भन्ने केन्द्रको हो ?
सामान्य सर्तकता पनि नअपनाउनु हामी यात्रुको दोष हो भने सयौँ याात्रुको सुरक्षामा ध्यान नदिनु सवारी साधन संचालकहरुको लापरवाही हो। त्यसैगरी सामान्य अध्ययन र सम्भावित अवस्थामा कडि कडाउ गर्न नसक्नु सुरक्षाकर्मी र सरोकारवालाहरुको कमजोरी हो। विकासका पूर्वाधारहरु, जस्तै एयरपोर्ट ठाउँठाउँमा स्वास्थ्य सेवा संचालन गर्न नसक्नु स्थानिय नेता र राज्यको कमजोरी हो। नभए, बाजुराको सुत्केरी महिलालाई उपचार गर्न र सुत्केरी गराउन धनगढी पुर्याउनु पर्ने अवस्था आउनु पर्ने हो र ? पक्कै होईन, यसर्थ दोषि प्रकृति होईन हामी नै हौँ ।
२०७२ सालको विनाशकारी भूकम्पले धेरै ठूलो धन र जनको क्षति पुर्यायो। भूकम्प पूर्व सूचना दिएर आएको भए त्यतिधेरै मानवीय क्षति हुदैनथ्यो होला र धन सम्पति पनि जोगिन सक्थ्यो तर हिमपात हुदैछ भनेर थाहा हुने अवस्था छ, सचेत हुन सके आज यति धेरै अप्ठ्यारोको सामना पनि गर्नु पर्दैन। यस्तै हो भने आउदो बर्षको हिमपातमा कोही लोकराज भट्टहरु हिउँमा रमाईलो गर्न जाने छैनन्। यही हिमपात हो सुदूरपश्चिमलाई अभिषाप, यहि हिमपात हो देशका अन्य भूभागमा पर्यटक बढाउने र आर्थिक गतिबिधि बढाउने। के उर्पयुक्त हो, बहस खुल्ला छोडेको छु ।