कैलालीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा २६ वटा सडक निर्माण हुँदै
कैलालीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको २० करोड बजेटमध्ये ८ करोड वढीका २६ सडक स्तरोन्नति र कालोपत्रे र कल्भर्ट निर्माणको योजनाहरु सञ्चालन हुन गईरहेका छन् । गत कार्तिकमा ५ वटा निर्वाचन क्षेत्रका लागि छनोट गरिएका ८६ वटा योजनामध्ये २६ वटा सडक स्तरोन्नति कालोपत्रे र कल्भर्ट निर्माणका रहेका छन् । सवै योजनाहरु चालु आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । कैलालीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका ८६ वटा योजनाहरुमध्ये सडक र कल्र्भटसँग सम्बन्धित योजनाहरु २६ वटा रहेका छन् ।
कैलालीमा सवैभन्दा वढी सडक र कल्र्भटसँग सम्बन्धित योजना निर्वाचन क्षेत्र नम्बर ४ ले छानेको छ । क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टको सांसद विकास कोषको चार करोड रकमवाट छानिएका १४ वटा योजनामा दुई करोड ९९ लाख ४० हजारका १० वटा सडक र कल्भर्टका योजना रहेका छन् । त्यसमा सवैभन्दा कम एक लाख ४० हजारदेखि लिएर ५० लाखसम्मका सडक कालोपत्रे र स्तरोन्नतिका कामहरु हुनेछन् । संख्याको हिसावले दोस्रो नम्बर भएपनि रकमको हिसावले सवैभघन्दा निर्वाचन क्षेत्र नम्बर ३ ले पनि वढी सडकका योजना छानेको छ । सो क्षेत्रका प्रतिनिधि सभा सदस्य गौरीशंकर रानाले १४ वटा योजनामध्ये ९ वटा योजनाका लागि ३ करोड २८ लाख ६० हजार विनियोजना गरिएकोमा त्यसमा १० लाखदेखि एक करोडसम्मका योजना रहेको छ । प्रतिनिधि सभा सदस्य गौरीशंकर थारुले सडकवाट समृद्धि आउने भएकोले सडकलाई प्राथमिकता दिएको बताए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशम चौधरी हिरासतमा रहेको अवस्थामा त्यस क्षेत्रकी राष्ट्रिय सभाकी जेष्ठ सदस्य कमला ओलीको पहलमा छानिएका २० वटा योजनामा ५ वटा एक करोड ५७ लाख बजेटका सडकका योजना परेका छन् । ती योजना २७ लाखदेखि ५० लाखसम्मका रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ भने सडक योजना विहीन रहेको छ । प्रतिनिधि सभा सदस्य झपट रावलले छनोट गरेका २० वटा योजनामा एउटा पनि सडक र कल्र्भटको योजना छैन् । निर्वाचन क्षेत्र नम्बर ५ मा पनि सडकलाई प्राथमिकता दिईएको छैन् । प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले छानेका १७ वटा योजनामा दुई वटा मात्रै ३१ लाखका योजना रहेका छन् । प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले भने सडक स्थानीय तह र अन्य कार्यक्रमको पनि प्राथमिकतामा परेकोले कम महत्व दिएको बताए ।
प्रतिनिधि सभामा कैलालीवाट प्रतिनिधित्व गर्ने पाँच जना सांसदले प्राप्त गर्ने २० करोडका योजनाहरु कार्यान्वयको चरणमा गईरहेका छन् । प्रति सांसद ४ करोडका दरले पाईने रकमबाट पाँच वटै निर्वाचन क्षेत्रमा ८६ वटा योजना चालु आर्थिक बर्षभित्र सञ्चालन हुँदैछ । त्यसमा सडक र कल्र्भटसँग सम्बन्धित २६ वटा योजना रहेका छन् । ती योजनाहरुको कुल बजेट ८ करोड १५ लाखका रहेको जिल्ला समन्वय समिति कैलालीका निमित्त समन्वय अधिकारी योगेन्द्र ओझाले जानकारी दिए ।