सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हुलाकी सडकको स्तरवृद्धिमा २५ प्रतिशत प्रगति

२०७८ फाल्गुन २०, ०६:१९ कमल सावद

धनगढीः कैलालीमा हुलाकी सडक स्तरवृद्धिको काम २५ प्रतिशत पूरा भएको छ। जिल्लामा दुइदेखि चार लेनसम्म सडकको स्तरवृद्धिको काम थालिएकोमा २५ प्रतिशत पूरा भएको हो। धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुइदेखि चार लेनमा स्तरवृद्धि थालिएको हो। 

धनगढीमा तीन किलोमिटर सडकलाई चार लेनमा स्तवृद्धिको काम जारी छ। हुलाकी सडक कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले धनगढीमा नाला निर्माण र ग्राभेलको काम पूरा भएको बताए। धनगढीमा यो वर्ष कालोपत्रेको काम भने पूरा नहुने उनले बताए। ‘धनगढीमा नाली निर्माणको काम पूरा भएको छ,’ उनलेभ ने, ‘ग्राभेलको काम सकिएको छ।’ 

धनगढी उप–महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको तीन किलोमिटर सडकलाई चार लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तारको काम जारी छ। बसन्तासम्मको २८ किलोमिटर र बसन्तादेखि शत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–शत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरवृद्धिको काम जारी छ। 

लम्की–टीकापुर खण्डमा बैशाखमा कालोपत्रेको तयारी थालिएको छ। निर्माण व्यवसायी दिनेश मल्लले चैत अन्तिम साताबाट कालोपत्रे गर्ने बताए। ‘चैतको अन्तिमबाट कालोपत्रे गर्ने भनेका हौं,’ उनले भने, ‘रड र डिजेलको मूल्य बढेको छ। रड पाउन छोडेको छ। हामी कालोपत्रेको तयारीमै छौं।’

३० किलोमिटर लम्बाई रहेको लम्की–टीकापुर सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने सहरी विकासले निर्माणका लागि ठेक्का गरेको छ। अन्य क्षेत्रको सडकको स्तरवृद्धिका लागि हुलाकी सडक राजमार्ग निर्देशनालयले गत वर्षको माघ २ गते ठेक्का सम्झौता गरेको हो। 

भारतले निर्माण गरी हस्तान्तरण गरेको हुलाकी सडककोे चौडाई पौने तीन मिटर मात्रै रहेको छ। तर अब भने धनगढीको तीन किलोमिटर १४ मिटर र बाँकी दुई लेनमा विस्तार गरी सात मिटर चौडा बनाइने छ। मडैले भने, ‘नयाँ ठेक्काको २५ प्रतिशत काम पूरा भएको छ। कुनै ठाउँमा बढी कुनै ठाउँमा कम छ। यो औसतमा हो।’

लामो समयदेखि अलपत्र पारिएको हुलाकी सडकमा पर्ने कान्द्रा नदी माथिको पुल निर्माणको काम थालिएको छ। धनगढीमा समेत २ नयाँ पुल निर्माणका लागि हुलाकी सडक निर्देशनालयले ठेक्का सम्झौता गरेको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस