सुदूर नेपाललाई विश्वसँग जोड्दै

'आमा'

२०७५ माघ ९, ११:२५ खबर संवाददाता

उस्ले हाँस्न सिकाई मैले हास्न सिके, हास्न बिर्सिदा आज पनि उनैलाई सम्झिन्छु र फेरि एकचोटी दिल खोलेर हाँस्छु । याद छल्किदा अहिल्यै भेट्न जाउ जस्तो लाग्छ तर बाध्यता र परिस्थितिले बाटोमा पुर्ण विराम उभ्याउछ र केही समय पर्खिन बाध्य गराउँछ ।आमा, भन्दा मात्रै पनि यति धेरै प्रिय लाग्छ कि यो शब्द म कसरी उदित गरु । जुन कुरा मातृत्वले दिन्छ त्यो अन्त कतै नपाईदो रहेछ । जुन कुरा सारा सन्सार डुलेर पाइदैन दया, क्षमा, ममता त्यो एउटै ठाउँमा पाइदो रहेछ ! आमाको मनमा । म त आमालाई आमा भन्दा पनि उच्च शब्दले विभुषित गर्न खोज्दै थिए तर पुरै शब्दकोष पल्टाएर पनि आमाको वात्सल्यता बराबरीको शब्द भेट्टाएन, धेरै उच्च लाग्यो मातृत्व ।

 

आमा, हुन त म यहाँ तिमी भनेर सम्बोधन गर्न खोज्दैछु । सायद तिमीले मेरो हजारौ गल्तीलाई एउटा माफीमा परिणत गर्ने भएर होला मलाई तिमी भन्ने आँट आएको । मैले धेरै चोटी तिम्रो चित्त दुखाएको छु । थाहा छ मलाई, तिमीले माफ गरिसक्यौ तर पनि म एकचोटी आफ्नै मुखले माफी माग्न चाहन्छु । यो उराठ लाग्दो शहरमा एक्लै एक्लै लरखरिदा धेरैनै याद आउछ आमा । यहाँ को छन र आफ्ना ? सबै बिराना । यहाँको चलन यस्तै हो जस्तो लाग्छ, मेरो रङ्गमन्चमा रमाउन त धेरै नै आउछ्न तर जब गोधुली निष्पट्टताको मुखमा पुग्छ तब सबै कहाँ हराउछन थाहा हुँदैन । अनि मलाई सानोमा तिमीले आफ्नो काखमा च्यापेर राखेको याद आउछ र म पग्लिएर आफ्नै आखाबाट बग्न थाल्छु । मलाई सोध्न मन लाग्छ र तिम्रो तस्वीरको अगाडी गएर सोध्छु पनि, तिमी मलाई किन यती धेरै प्रेम गर्छ्यौ ? तर त्यो तस्वीर बोल्दै बोल्दैन । जब तिम्रो अगाडी हुन्छु मैले सोध्नै सक्दैन । किनकी तिमीलाई निरुत्तर र नाजवाफ भएको मैले हेर्नै सक्दैन । मलाई थाहा छ यदि मैले सोधे भने तिमी सङ्ग जवाफ छैन किनकी मैले जति मुर्खता देखाए पनि तिमी प्रेम गरी रहन्छ्यौ । यहाँ प्रेमको नाममा प्रलयको मुखमा पुर्याउने त धेरै भेटेको छु तर प्रेमको लागि प्राण दिन सक्ने आमा मात्रै हुदीरहेछ । जब म यहाँको सभ्यताले थकित र चकित हुन्छु तब तिम्रो म प्रतिको प्रेम महसुस गर्छु र हराभरा बन्ने गर्छु ।

 

तिमीले मलाई हुर्काउदै गर्दा लाखौ सपना देखेको हुनुपर्छ । मैले एउटा पनि पुरा गर्न सकिन जस्तो लाग्छ । म चकित त त्यहाँनिर छु जहाँ मैले तिमीले देखेका लाखौ सपनाहरुलाई हावामा उडाइ सकेपछी पनि मलाईनै आफ्नो एउटा सपना मानेर लाखौ सपना बराबरिको खुशीमा रमाएकी छ्यौरे । मैले आफ्नो तर्फको एउटा पनि कर्तब्य पुरा गर्न सकिन । थाहा छ तिमीले आफ्नो प्रेम पैँचो ठनेकी छैनौ, प्रेमिकाले जस्तो ! त्यसैले त तिमी आमा हौ र म रमाउन सक्छु ।   हो आमा, जाँडको तालमा मात्तिने छोरा भन्दा म आफुलाई लाखौँ गुणा ठुलो भाग्यमानी सम्झन्छु कि म तिम्रो प्रेमले पुल्पुलिएको छु । म सपना सपना भनेर आफैलाई भुलिसके तर जब म आफ्नो खुट्टाले धर्तिमा टेकिन सक्दैन थे नि, तब तिमीले आफ्नो एउटा औंलाको साहारा दिएर मलाई हिडाउदै बाबा भनत बाबु भनेर आफु पनि तोते बोली बोलेर मलाई बोल्न सिकाएको कहिल्यै भुल्दिन आमा । आमा, जब म झ्यालको पर्दा खोलेर बाहिर हेर्छु मलाई लाग्छ, म त्यही घरको मुल ढोकाको छेवैमा भएको ठुलो झ्यालमा बसेको छु । तिमीले पिठ्युमा डोको भरि घाँस र त्यै माथी एक मुठो कुर्कुसी ल्याउने आसमा । म त्यो झ्यालमा बसेर केराउको कलीलो दानामा कुर्कुसी मिसाएर खाएको कहिल्यै भुल्दैन आमा । झ्यालबाट बाहिर हेर्दा टन्टल घाममा तिम्रो त्यही बिम्ब तिर्मिराए जस्तो लाग्छ र म ठुल्ठुलो आखा उघारेर स्पस्ट पार्न खोज्छु तर खै कहाँ हराउछ थाहै पाइदैन । र पो म आफ्नै आखाबाट बग्न थाल्छु । पछी थाहा हुन्छ कहाँ त्यो बक्षस्थल, म त यो मरुस्थलमा पो रहेछु । हो आमा मलाई घर छोडेर टाढा बस्न थालेको त धेरै भै सक्यो तर मलाई तिम्रो लत छुटेको छैन र म चाहन्न कि तिम्रो लत छुटोस । कसै अरुको बिरामी भएर रहनु भन्दा तिम्रो लत लागेर तिम्रो चित्र बिम्ब आखामा कोर्दै रहनुनै मेरो लागि सौभाज्ञ छ आमा । जब म बाहिर बाट आउछुनि आमा, कोठाको ढोका खोल्दै सोध्न मन लाग्छ कहिले काही त सोधिनै हाल्छु ! आमा कहाँ हुनुहुन्छ ? जवाफ दिने कोही हुँदैन अनि भित्तामा टाउको बजारेर रुन मन लाग्छ । आमा भनेर जोर-जोरले  कराउन मन लाग्छ । यो पुरै शहरलाई आमा भन्ने शब्दले थर्कमान बनाउन मन लाग्छ ।

 

आमा, तिमीले सधै "बिक्षिप्त" सुत्न जा भन्न्ने भएर होला यहाँ मलाई कहिल्यै पनि सुत्न मन लाग्दैन तर जबरजस्ती निदाउने दुष्प्रयास गरेरै निदाउँछु । बिहान उठेर ठेकिको माथिको दही सङ्ग बासी रोटी खान तिमीले मही पार्दै गर्दा बिरालोले झै छेउमा बस्ने बानिले होला, ओछ्यान बाट उठ्दै के खाउ, के खाउ लाग्छ । र त्यही दही र रोटी सम्झेर टर्रो चिया सङ्ग अमिलो पाउरोटी सुलुसुलु निल्छु । साच्चै भनौँ त आमा, तिमीले सधै सोध्छ्यौनी किन दुब्लायौ ? भनेर, घरमा हुँदा त मलाई भोक लागेको तिमीलाई थाहा हुन्थ्यो र पो मोटाउथे तर यहाँ त.........। हो आमा, तिमीले मलाई एउटा आदर्श पात्र बनाउने भनेर लागेकी थियौ । म आदर्श पात्र बन्न सक्छु, सक्दैन तर एउटा बफादार छोरा बन्ने कोसिस गरिनै रहनेछु । मैले अब बुझ्दै छु आमा, अस्तिमात्रै पनि मैले रिसाउदा तिमीले बेदना लुकाएर मुस्कुराउदै थियौ । हो, त्यो तिम्रो मलाई आदर्श पात्र बनाउने अभियान नै हो । मैले सबै कुरा भुल्न सक्छु तर तिमीले "ब" भन्न सिकाएको र बाबाले "अ" भन्न सिकएको कहिल्यै भुल्दिन आमा । मेरो कुनै धर्म छैन । धर्म छ त केबल मानबता र तिमीहरु प्रतिको बफादारितामा । यदी भुले भने मेरो धर्म नास हुन्छ ।

 

आमा, मैले लेखी रहेको छु सङ्गै अस्ती म घरबाट आउँदा तिमीले आगनमा उभिएर हात हल्लाउदै गरेको दृष्य देखिरहेको छु । तिमीलाई त लाग्यो होला छोराले जानेबेलामा एकफेर फर्केर पनि हेरेन भन्ने, हेरेको थिए आमा । जब तिमीलाई हात हल्लाउदै गरेको देखे मेरो मन भक्कानिदै आयो, आखाहरु छताछुल्ल भए र हेर्न सकेन आमा । तिमी गुनासो पनि मुस्कुरौदै गर्दै थियौ " घरबाट गएपछि कहिल्यै फोन गर्दैन" भनेर, तर म भक्कानिदै थिए । त्यै भएर त्यहाँबाट उठेर भित्र गएको थिए । म फोननै नगरेर कहाँ बस्न सक्छु र आमा तर जब फोन गर्छु त मलाई यादहरुले अझ बढी पिरोल्छ । अहिल्यै घर जाउँ जस्तो लाग्छ तर थुप्रै बध्यताले यहाँबाट उम्किन दिदैन । र म मुर्ख बन्ने कोसिस गर्छु । आमा, म अब फर्किदा एउटा उमङ्ग लिएर आउछु, जुन तिमीलाई असली खुशी लाग्नेछ । म तिमीले देखाएको बाटो भन्दा फरक हिड्नै सक्दैन । जुन आदर्श आमाबाट पाइन्छ त्यो आदर्श सन्सारको कुनै पनि ज्ञानिले दिन सक्दैन । जुन पाठ आमाले पढाउछिन, त्यो पाठ कुनै पनि शिक्षकले पढाउन सक्दैन । र जुन शिक्षा आमाबाट पाइन्छ, त्यो शिक्षा संसारको कुनै पनि युनिभर्सिटिले दिन सक्दैन । हो आमा, अब म एक हुल खुशी लिएर आउनेछु । हो आमा, अब म एक हुल खुशी लिएर आउनेछु ।

कमेन्ट लोड गर्नुस