झापा गोल्ड कपको तयारी पूरा, जर्सी सार्वजनिक
झापा: मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ। बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
प्रतियोगितालाई सफल बनाउनका लागि जिल्लाभर स्वागत गेट निर्माण गरिएको छ भने बिर्तामोड नगरपालिका आसपास मात्र एक दर्जन गेट बनाइएको गोल्ड कप सञ्चालन समितिका संयोजक विनोद बस्नेतले बताए। उनका अनुसार प्रतियोगितामा घरेलु टोली झापा–११ सहित ए डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्रीस्टार, सङ्कटा, सातादोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन्। गोल्डकपमा दुई टिम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम रहने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए।
‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रा शान’ भन्ने नारासहित सञ्चालन हुने पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रूपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ। छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकका रूपमा मस्कट निर्माण गरिएको छ।
आज गोल्ड कपका लागि तयारी गरिएको जर्सीसमेत झापा जिल्ला खेलकुद सङ्घका पूर्वअध्यक्ष जलकुमार गुरुङ र गोल्ड कप समितिका पूर्वअध्यक्ष महेन्द्र गिरीले सार्वजनिक गरेका हुन्। गोल्ड कपलाई एउटा सामाजिक तथा स्थापित संस्थाका रूपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाका रूपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर लगिएको अध्यक्ष बस्नेतको भनाइ छ। उनले प्रतियोगितालाई सफल बनाउनका लागि झापाली उद्योग, व्यवसायी र खेलप्रेमी महानुभाव, पत्रकारसँग आग्रहसमेत गरेका थिए।
गोल्ड कपका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार प्राप्त गर्नेछन्। गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताए। प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद नौ हजार ९९९ दिइने भएको छ।