कैलाली काँग्रेस अधिवेशन : मतगणना सुरू
धनगढीः नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशनअन्तर्गत मतगणना सुरु भएको छ। हिजो राति नै मतगणना थालिने भनिएकोमा आज ढिलोगरि सुरु भएको हो। निर्वाचन समितिका अनुसार २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मतदाताले मतदान गरेका छन्।
अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदवारी दिएका थिए। यसअघि सभापति पदको आकांक्षी देखिएका युवा नेता भीम बडूवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका थिए।
जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना निर्विरोध निर्वाचित भएका छन्। सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा १८गते दोस्रो चरणमा मतदान गर्ने तयारी भइरहेको बताए। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछामबाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ।