धनगढीमा तीनतर्फ नदीले घेरिएका बस्ती जोखिममा, तटबन्ध गर्न बेवास्ता
धनगढी : सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाका बस्ती कटानको उच्च जोखिममा परेका छन्। उपमहानगरपालिका वडा नम्बर १७ को धुर्जन्ना र सरौटा कटानको उच्च जोखिममा रहेका हुन्। बस्तीको तीनतर्फ नदीले घेरिएको र हरेक वर्ष नदीले कटान गर्ने भए पनि तटबन्ध गर्न तीन तहकै सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ।
धुर्जन्ना, पथरी र सरौटामा शिवगंगा र खुटिया नदी तथा जरीखोलाको कारण बर्सेनि कटान भएर बस्ती नै जोखिममा परेको भए पनि उपमहानगरले तटबन्धको काम गर्न कुनै योजना नबनाएको स्थानीय भुण्टे पार्कीको गुनासो छ। 'हाम्रो बस्ती तीनतर्फबाट नदीले घेरिएको छ,झ उनले भने, ञबर्सेनि कटान हुने गरेको छ। तटबन्धको योजना अहिलेसम्म आएको छैन। आए बस्ती सुरक्षित हुन्थ्यो।'
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को धुर्जन्ना, सरौटा र पथरीमा बर्सेनि नदी कटान भइरहे पनि रोकथाम गर्न कुनै काम नभएको अर्का स्थानीय कमल क्षेत्रीले बताए। ञहाम्रो सुकुम्बासी बस्ती झनै जोखिममा छ, 'उनले भने, ञतटबन्ध नभए आउने बर्सातमा पूरै बस्ती बग्ने चिन्तामा छौँ।'
नदीले बस्तीमा हरेक वर्ष २० देखि २५ मिटर कटान गर्ने गरेको स्थानीयले बताएका छन्। तीन नदीको कारण कटान हुने गरेको भए पनि कुनै पनि ठाउँमा तटबन्ध नगरिएकोले नदीले सहजै खेतीयोग्य जमीन बगरमा परिणत गर्दै जाँदा बस्तीसमेत बगाउने चिन्ता स्थानीयको छ। स्थानीयको एकमात्र माग तटबन्ध गर्नुपर्ने भए पनि चुनावमा दल तथा नेताहरूले तटबन्धको आश्वासन बाड्ने गरेको भए पनि योजना भने नपरेको स्थानीय भरतबहादुर बोहराले बताए। 'चुनावमा सबै नेता आएर तटबन्ध गर्ने भाषण गरेर जान्छन् तर कुनै योजना आएको छैन,झ उनले भने, ञहरेक वर्ष नदीले २५ देखि ३० मिटर कटान गर्ने गरेको छ। पूरै बस्ती बगरमा परिणत हुने चिन्ता बढेको छ।'
धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै नदीजन्यवस्तु उत्खनन् गर्न २ करोड १९ लाखमा ठेक्का लगाएको छ। उपमहानगरपालिकाले राजश्व संकलनमा मात्रै ध्यान दिने तर नदी नियन्त्रणका लागि बजेट नहाल्ने गरेको कारण आउने बर्सातमा खुटिया नदीले ३ सय परिवारको उठीबास हुने चिन्ता स्थानीय कालिका सामुदायिक वनका अध्यक्ष डम्मर गिरीको छ। 'धनगढी उपमहानगरपालिकाले हरेक वर्ष नदी उत्खननबाट दुई/तीन करोड राजश्व उठाउने गरेको छ, 'उनले भने, 'राजश्व मात्रै उठाउने तर तटबन्धमा खर्च नगर्ने गरेकोले कटानको मुख्य जिम्मेवार उपमहानगर हो।'
धनगढी उपमहानगरपालिकाले धुर्जन्ना, सरौटा र पथरीमा नदी कटानको समस्या पहिचान गरेको जनाएको छ। तटबन्धका लागि हालसम्म कुनै काम हुन नसकेको भए पनि यो आर्थिक वर्षमै १ किलोमिटर तटबन्ध हुने गरी राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमबाट बजेट आउने सुनिश्चतता भएको उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। 'त्यो क्षेत्रमा कटानको समस्या छ। हालसम्म नदी नियन्त्रणको योजना पनि परेको छैन,' उनले भने, 'यो वर्ष राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको बजेट १ किलोमिटरमा तटबन्ध गर्ने योजना आउने भएको छ।'