...अनि ‘भ्यालेन्टाइन डे’ मा चौथो पटक ब्रेकअप भयो !
‘भ्यालेन्टाइन डे’ को बारेमा म धेरै जारकार छैन। अर्थ बुझ्ने प्रयास पनि मैले खासै गरिन। तर ‘भ्यालेन्टाइन डे’को बारेमा यत्ति भने थाहा छ, यो फेब्रुअरी–१४ मा पर्छ। विशेषगरी माया गर्ने जोडीले यसलाई एक पर्वकै रुपमा मनाउने गर्छन्। मैले सुनाउन खोजेको कथाको घटना पनि यसै समयमा भएको हुँदा शिर्षकमा ‘भ्यालेन्टाइन डे’ भन्ने शब्द राख्न पुगे। शिर्षकले जस्तो सन्देश दिएपनि म भने यो कथाका पात्रको एक यात्रा प्रस्तुत गर्दैछु।
गाउँको सानो झुपडीबाट संसार देखेको। धुलो माटोसँग पहिलो पिरती लगाएको। ८ वर्षको उमेरपछि कखरा बोल्न जानेको। दुःख र अभाव त कति हो कति। १५ वर्षको हुँदासम्म जिल्ला सदरमुकाम देख्ने सपना पूरा नभएको। अनि सडक सञ्जालको छाया समेत नदेखिएको मेरो गाउँ। मैले गाडी मोटर देख्ने विषय त दिवा सपना थियो त्यो बेला। तर समय सधै एकनासको कहाँ हुन्छ र ? उमेर बढ्दै गएपछि जिम्मेवारको तौल पनि उकालो लाग्यो। म पनि केही निजी सपनामाथि पूर्णविराम लगाएर सदरमुकाम पसे। त्यहीँबाट सुरु भयो जीवनको अर्थपूर्ण यात्रा।
जेठ पहिलो साता, ०७५। म कामको खोजीमा पहिलोपटक धनगढी पुगे। नयाँ सहर। नयाँ मान्छे। सहजै कसैसँग बोल्नु र नजिक हुनु मेरो लागि सगरमाथा चढे जस्तै थियो। हो, त्यो समयमा नै हो उनीसँग भेट भएको। कहाँ ? कसरी ? किन भेट भयो ? यी प्रश्नको जबाफ दिनतर्फ लागिन। किनकी अतित सबैको मिठो हुँदैन। यति भन्दै गर्दा विगतलाई अवकाश दिएको पनि छैन। सम्झिन लायक अतितलाई प्रेरणा सम्झेर अनि भुल्नुपर्ने घटना बेवास्ता गरेर नयाँ–नयाँ गोरेटोमा पाइला चाल्ने प्रयत्न जारी राखेको छु।
मैले कथाको दोस्रो अनुच्छेदमै आफ्नो पृष्टभूमि भनिसके। हो, त्यो वातावरणमा हुर्केको मान्छेले प्रदेशकै प्रमुख व्यपारिक केन्द्रमै बस्ने एक परिवारको युवतीसँग प्रेम गर्नु फलामको चिउरा चपाउनु जस्तै थियो। कहाँ म भैँसी नुहाउने खाल्डोमा पौडी खेलेको। कहाँ उ स्विमिङ पुलमा शुल्क तिरेर गर्मी छल्ने मान्छे। कहाँ म दिउँसोको खाजा बिहानको बासीभात खाने। कहाँ उ पिजा र मःम खाने मान्छे। कहाँ म वर्षको एकपटक दसैँमा किनेको स्कुल ड्रेसलाइ समेत अन्य समयमा लगाउने। उ महिनाकै दुईपटक भन्दाबढी सपिङ गर्ने परिवारको मान्छे। यो भन्दा बढी उदाहरण कति दिनु। अब त प्रष्ट बुझियो होला।
हो, यस्तै पृष्टभूमि भएकी उनीसँग मेरो प्रेम बस्यो। मैले माथि नै उल्लेख गरेको थिए, जेठ पहिलो साता, ०७५ मा धनगढी पसेको कुरा। त्यो बेलादेखि नै हामी एकअर्कोको प्रेममा बाधिँकाएका थियौं। त्यो प्रेम यात्रा ०७५ जेठको अन्तिम सातादेखि असार, साउन हुँदै भदौ असोजसम्म पुग्यो। त्यसपछि खै के भयो ? हाम्रो कुराकानी बिस्तारै हुन छोड्यो। माघ, फागुनसम्म पुग्दा हाम्रो सम्बन्धको सुुई शुन्यमा झरिसकेको थियो। अनि कसरी मनाउनु ‘भ्यालेन्टाइन डे’ ?
अब कुरा २०७६ को गरौं। ०७६ वैशाखदेखि नै हाम्रो फेरि कुराकानी सुरु भयो। त्यहाँसम्म आइपुग्दा समय पहिलाको जस्तो थिएन। अर्थात सुरुवातको जसरी सबै कुरा भन्नुपर्ने मान्छे चिन्नुपर्ने कुनै सवाल थिएन। सहजै पहिलाकै जसरी यात्रा सुरु आफ्नै गतिमा अगाडि बढ्न थाल्यो। यो वर्षपनि असोजसम्म पुग्दा फेरि पुरानै पारा। भन्नु मतलब हाम्रो कुराकानी पुनः रोकियो। यो समयमा त अब एकअर्काको अनुहारसमेत नहेर्ने कुरा पनि भयो। अनि कसरी मनाउनु फेब्रुअरी–१४ मा पर्ने ‘भ्यालेन्टाइन डे’ ?
समय बित्दै गयो। हामी पनि एक अर्काको लागि फेरि अन्जान जस्तै थियौ। संयोग नै भन्नु पर्छ २०७७ को वैशाखमा फेरि हाम्रो कुराकानी सुरु भयो। यो समयमा आउँदासम्म त आफ्नो प्रेम व्यक्त गर्नका लागि केही भन्नुपर्ने विषय नै बाँकी रहेको थिएन। किन भन्दा प्रेममा परेको दुई वर्ष पूरा भइसकेको थियो। फेरि कसको नजर लाग्यो थाहा छैन। ०७७ वैशाखबाट सुरु भएको यात्रा मंसिरसम्म पुग्न सकेन। अनि मलाई आफ्नो प्रेम यात्रा पनि एक नेपाली लोकसंगित जस्तै लाग्छ। ‘कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ अब भन्नुहोस् त्यो वर्ष पनि कसरी मनाउनु ‘भ्यालेन्टाइन डे’ ?
अब यो वर्षको कुरा गरौ। अर्थात २०७८ को कुरा। यो वर्षको यात्रा पनि अघिल्ला वर्षजस्तै छ। वैशाखमा नै हाम्रो कुराकानी सुरु हुन्छ। समय–समयमा विगतकै जसरी कुराकानी पनि रोकिन्छ। तर यो बेलासम्म आइपुग्दा विगतको जस्तै लामो समयसम्म कुराकानी भने रोकिन्न। झन यो वर्ष त प्रेम यात्रालाई बिहेमा बदल्ने निर्णय समेत भयो। यति भइसकेपछि बुझ्नुस् सम्बन्ध त झन–झन प्रगाड हुँदै जान्छ। माघको पहिलो सातासम्म सबै चिज ठिकै चल्दै थियो। तर दोस्रो साता सुरु भएसँगै फेरि पहिलेकै नियति दोहोरियो। अर्थात हामी दुईजना राजी भएपनि परिवारले स्वीकार नगर्ने घोषणा गर्याे। यसपछि हो हाम्रो सामु एक चुनौती खडा भएको।
‘भ्यालेन्टाइन डे’ आउन एक साता मात्रै बाँकी थियो। परिवारले हाम्रो सम्बन्धलाई नमान्ने भनेपछि चुनौती खडा भयो। तर, हामी आत्तिएका थिएनौं। बरु सम्हालिएका थियौं। दुवै जनाको निर्णय अनुसार हामी हाम्रो नजरमा कहिल्यै पनि अलग नहुने वचन भयो। विगतमा सुन्ने गरेको थियौं, ‘धेरै जसोले प्रेममा त्याग पनि गर्दछन्।’ तर हाम्रो सम्बन्धमा एक जनाले मात्रै हैन, दुवैले त्याग गरेका छौं। परिवारको खुसीका लागि आफ्नो सम्बन्धलाई बिहेमा परिणत नगर्ने त्याग। तर माया भने झन–झन बढ्दै गएको छ। सम्बन्ध पनि बलियो हुँदै गएको छ। अनि यो वर्ष हामी पनि मनाउँदै छौ ‘भ्यालेन्टाइन डे।’
समयले कसलाई कसको मालिक बनाउँछ त्यो अहिले भन्न सकिन्न। तर एकदिन खुसीको पर्यायवाची फूलको बगैँचामा एक अर्को फूल हुर्किने छ। जसको मालिक बन्ने अवसर म गुमाउने छैन। यो कथा भन्दासम्मको मात्रै यात्रा प्रस्तुत गरे। यात्रा अझै निरन्तर जारी छ। अझै पनि विभिन्न मोडमा ठेस लाग्नसक्छ। त्यो दुखाइलाई यसरी नै शब्दजाल बुनेर तपाई सम्पूर्ण पाठकलाई एक अर्को कथा पढ्ने कष्ट फेरि पनि दिनेछु।
अँ एउटा कुरा त भन्न नै बिर्सेछु। यसअघि प्रकाशित भएको ‘२० खिल्ली चुरोट सकिएको त्यो रात’ शिर्षकको कथाको दोस्रो भाग पनि यही हो।