‘३० वर्ष पहिले धनगढीमा स्तरीय शिक्षाको आवश्यकता देखेर विद्यालय खोले’
पदमराज जोशी, धनगढी: ‘दि गार्डनर ईंग्लिश बोर्डिङ स्कुल’का संस्थापक÷प्रधानाध्यापक कैलाश दाहाल २०४५ सालमा काम विशेषले धनगढी फर्किएका थिए। धनगढी आए लगत्तै उनी ऐश्वर्य विद्या निकेतनको शिक्षक भए। लगभग ३ वर्ष शिक्षण पेशामा लागेका दाहालले आफ्नो विद्यार्थी काल देखि नै संघसंस्थामा आफ्नो उपस्थिति देखाउन थालिसकेका थिए।
आजभन्दा करिब ३० वर्ष पहिले केही सिमित निजी स्कुल भएको बेला उनले आफ्नो दि गार्डनर बोर्डिङ स्कुललाई संचालनमा ल्याएका थिए। उनी ३० वर्ष पहिलेको धनगढीका शैक्षिक वातावरण सम्झदै बन्छन्, ‘धनगढीमा शिक्षा क्षेत्रको कुरा गर्दा सरकारी स्कुलहरु बजारमा जम्मा तिन वटा त्रिनगर, पञ्चोदया र धनगढी मावि त्यसैगरी निजी स्कुलहरुमा पनि ऐश्वर्य विद्यानिकेतन, मालिका र ज्योति लगायतका विद्यालय थिए।’ त्यो समयमा एउटा स्तरीय शिक्षाको आवश्यकता धनगढीलाई रहेको उनले बताए। ‘आफू पनि एउटा संस्थामा कार्यरत रहँदा किन आफैले नगर्ने त भन्ने उत्साह ममा आयो र स्कुललाई संचालनमा ल्याए’, उनले भने।
उनले स्कुल संचालनमा ल्याएपछि केही अन्य स्कुल पनि खुले। धनगढीले आठ बोर्डिङ स्कुल त्यो समयमा पायो। निजी स्कुल नै संचालनमा ल्याउनुको उद्देश्य लखनउ, देहेरादुन, नैनीताला अध्ययनको लागि जाने विद्यार्थीलाई रोक्ने कोसिस गर्नु र अभिभावकलाई पनि आफ्नै सहरमा सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विश्वास निर्माण गर्नु रहेको उनी बताउँछन्।
दाहाल २०४९ सालमा कैलालीमा प्याब्सनको स्थापना हुँदै गर्दा संस्थापक मध्येका एकजना पनि हुन्। बसन्तबहादुर श्रेष्ठको नेतृत्वमा कैलालीको पहिलो समिति बन्दा उनी सचीवको जिम्मेवारीमा थिए। प्याब्सनको यात्रा पनि उनको केन्द्रीय उपाध्यक्ष सम्मको रह्यो। सचिव, जिल्ला अध्यक्ष र दुई चोटी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरेका उनी अहिलेको नवनिर्वाचित कार्यसमितिमा पनि वरिष्ठ सल्लाहकारको रुपमा रहेका छन्।
धनगढीमा जन्मिएका दाहालले प्रारम्भिक शिक्षा अध्ययन पनि धनगढीमै गरेका थिए। उनले कैलाली बहुमुखी क्याम्पसबाट प्लस टु गरेका थिए। यहाँ स्नातकका लागि कलेज नभएपछि उनी थप अध्ययन गर्न काठमाडौं गए। काठमाडौंको मिनभवन क्याम्पसबाट स्नातक गरेका उनले जागिरका लागि कहिलै पनि सोच नबनाएको अहिले सम्झन्छन्। विद्यार्थी जीवनमा उनले राष्ट्रवादी विद्यार्थी समूहमा आवद्ध भएर राजनीतिक गतिविधि गरे र विभिन्न नेतृत्वतहमा रहेर राजनीतिक अनुभव पनि बटुले विश्वविद्याल तहमा अध्ययन गर्दै जाने क्रममा २०४५ सालमा उनि धनगढी फर्किएका थिए।
दर्जनौं संस्थामा आवद्ध उनलाई सामाजिक संस्थाहरूमा आवद्धता चाहि किन आवश्यकता महसुस भयो भन्ने प्रश्न राख्दा उनले भने, ‘एउटा त मेरो विद्यार्थी जीवनदेखि नै सामाजिक काममा रुचि राख्ने व्यक्तिको रुपमा थिए। त्यसले सामाजिक संस्थाहरुमा लाग्नको लागि भूमिका खेल्यो नै। फेरि स्कुल संचालनमा ल्याइसकेपछि विभिन्न साथीहरूसँग थप परिचय हुने र आफूलाई पनि सामाजिक दायित्व पूरा गर्न एउटा माध्यम चाहिने भएकोले सामाजिक संस्थाहरुमा आवद्ध भए।’
उनी सन् १९९५ का जेसीजको धनगढी शाखाको अध्यक्ष हुन्। जेसीजमा लाग्दाको समयलाई सम्झदै दाहाल भन्छन्, ‘आफैलाई अध्यापन गराउने शिक्षक, यहाँका प्रतिष्ठित व्यक्तित्वहरु, पेसा व्यवसायीहरु जेसीजमा आवद्ध भएको देखेपछि मैले पनि आवद्ध हुनुपर्छ भन्ने उत्प्रेरणा मिल्यो।’ विश्वासले टिममा काम गर्न सकिने र टिममा पनि अनुशासन र पारदर्शिता आवश्यक रहेको उनले बताए। ‘सफलताका लागि र आफूले टिमलाई सफल बनाउनको लागि पनि यहि शुत्र प्रयोग गर्ने गर्छु’ उनले भने।
उनी अहिले सुदूर नेपाल सहकारी संस्था मिलिटेडको अध्यक्ष, लायन्स इन्टरनेसनल डिष्टिक थ्री हन्ड्रेड ट्वान्टि फाइभ बिटुको अध्यक्ष, सदाचारको लागि सामाजिक पहल कैलालीको अध्यक्ष, दाहाल प्रतिष्ठानको केन्द्रीय सदस्य र सुदूरपश्चिम सेवा समाज धनगढीको सल्लाहकार संयोजकको जिम्मेवारीमा छन्।