धनगढीमा तटबन्धन निर्माणको योजनामा अनियमितता
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १५ सुर्मीको खुटिया नदी किनारमा तटबन्ध निर्माणको काम भइरहेको छ। उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालयले १० लाखको लागत स्टमेट तयार गर्दै उपभोक्ता समितिमार्फत काम गरिरहेको हो। तर स्थानीयले उक्त तटबन्ध हचुवाको भरमा निर्माण थालिएको आरोप लगाका छन्।
उपभोक्ता समितिले निर्माण कम्पनीमार्फत काम गर्न थालेकोमा गुणस्तरीय नभएको स्थानीय रमादेवी उपाध्यायले बताइन्। उनले भनिन्, ‘तटबन्धमा मेरो चित्त बुझिएन। तट्बन्धन आयो, बचिन्छ सोचेकी थिए। तर राम्रो छैन।‘ तट्बन्धनको ‘लञ्चिङ’ उल्टो राखिएको दाबी स्थानीयको छ। उनीहरुले नदीको सतहसँग ‘लञ्चिङ’ नमिलेको बताएका हुन्। नदीको सतहसँग तट्बन्धन नमिलेकाले चाँडै नदीले बगाउने र उल्टै नदी गाउँ पस्ने जोखिम रहेको छ।
उल्टो हालिएको ‘लञ्चिङ’लाई नदीको बालुवाले छोपिएको स्थानीय धनबहादुर विष्टले बताए। उनले भने, ‘हामी हेर्न गएका थियौ। तर ‘लञ्चिङ’ नै उल्टो हालिएको छ। नदीको पानीको सुरक्षाका लागि तट्बन्धन हालिएको हो। तर राम्रो भएको छैन। आँखामा छारो हाल्ने काम मात्र भएको छ।’
तट्बन्धनको योजनामा झारो टार्ने काम मात्र भएकाले दीर्घकालीन नहुने चिन्ता गरिएको हो। उपभोक्ता समिति र निर्माण कम्पनीलाई तट्बन्धन दीर्घकालीन नभएकोे गुनासो स्थानीयले गर्दै आएका थिए। तर उनीहरुले रकम कम भएकाले कम यस्तो तट्बन्ध निर्माण गरिएको जवाफ पाएका छन्। उल्टै उपभोक्ता समिति विनियोजन गरिएको १० लाखबाट पनि रकम पचाउने दाउमा छ। उपभोक्ता समितिले १० लाखमा ६६ मिटरको तट्बन्धन निर्माण गर्दै छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का सव इन्जिनियर जीतेन्द्र शाहीले इस्टीमेट अनुसार काम भएको दाबी गरे। उनले भने, ‘१० लाखको कार्यक्रम हो। ६६ मिटर तट्बन्धन गर्नु छ। स्टमेटअनुसार काम हुँदैछ। काम म हेर्न जाने गरेको छु।’
एक ट्याक्टरमा पाँच घनमिटर ढुङ्गा हुन्छन। पाँच घनमिटरको पाँच हजार मात्र उपभोक्ता समितिले ट्याक्टर धनीलाई दिएको छ। तर स्टमेट तथा हिसाबमा एक ट्याक्टरको ६ हजार पाँच सय बढी रुपैयाँ तिरेको उल्लेख छ। जसका कारण तटबन्धनको योजनामा अनियमितता भएको आरोप पनि लागेको हो।