सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोकिएन नहर र कुलोलाई बाटो देखाएर नक्सा पास गर्ने क्रम

२०७८ माघ २१, ०७:२५ नारायण अवस्थी

धनगढी : सार्वजनिक नहर र कुलोलाई बाटो देखाएर घर नक्सा पास गर्ने कार्य धनगढी उपमहानगरपालिकाले अझै नरोकेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक नहर र कुलोलाई बाटो देखाएर अहिले पनि नक्सा पास गरेर धमाधम नहरको दायाँबायाँ घर निर्माण भइरहेको पाइएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को चटकपुर तथा विशालनगरमा रहेको नहरलाई बाटो कायम गरेर उपमहानगरपालिका घरको नक्सा तथा नापी कार्यालयले कित्ता काट तथा मालपोत कार्यालयले जग्गा पास गर्ने गरेको हो।
नगर विकास तथा उपमहानगरपालिकाको कारण धनगढी उपमहानगरपालिकामा हरेक वर्ष डुबान हुने गरेको छ।

बजार क्षेत्रका सबै वडाका बस्ती तथा टोलमा डुबानको समस्या रहेकोमा सबैभन्दा डुबान प्रभावित क्षेत्र वडा नम्बर ३ का बस्ती तथा टोल रहेको विशालनगरका जयबहादुर थापाले बताए। 'धनगढीको बजार क्षेत्रसहित वडा नम्बर १ देखि ८ सम्म डुबानको समस्या छ,' उनले भने, 'हाम्रो वडामा भने यो समस्या विकराल छ। पानीको निकास हुने नाला, नहर तथा कुलो अतिक्रमण भएकोले डुबान बढेको हो।' 

३ नम्बर वडाको केदार टोलदेखि मिलनचोकसम्म पानीको निकासका लागि बस्ती विकास हुनुपूर्व रहेका नाला, नहर तथा कुलो अहिले आएर जग्गा व्यापारी तथा उपमहानगरपालिकाको मिलेमतोमा मिच्न थालेपछि डुबान समस्या बढ्न थालेको केदारटोलका स्थानीय एवं डुवान संघर्ष समितिका सदस्य नन्दसिंह ऐरको दाबी छ। 'केदारटोल भएर बग्ने नहर पनि जग्गा दलालहरूले मिचेर बाटो बनाउने प्रयास गर्दै आएका छन्। तर हामीले आफ्नो टोलमा नहर अतिक्रमण हुन दिएका छैनौँ,' उनले भने, 'नहर मिच्न नदिन २०६५ सालदेखि नै खबरदारी गर्ने काम भएकोले यता अतिक्रमण नभए पनि चटकपुरभन्दा तल भने नहर पुरेर बाटो बनाइएको छ।'

बोराडाँडीको आर्मी व्यारेक हुँदै केदारटोल भएर खुटीया सिँचाई आयोजनाको नहर बडहरा हुँदै मोहना नदिसम्म छ। तर त्यो नहरको धेरैजसो क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ। कम्तिमा २४ फिट र बढीमा ३६ फिट चौडाई रहेको नहर ठाउँठाउँमा अतिक्रमण भएको वडा अध्यक्ष बलबहादुर ऐरको समेत स्वीकारोक्ती रहेको छ। 'धनगढीमा नगर विकास समिति र जग्गा व्यवसायीको कारण खोलानाला, नहर र कुलो अतिक्रमण भएको कारण डुबानको समस्या बढेको हो,' उनले भने, 'खोलानाला, नहर र कुलोलाई बाटो देखाएर उपमहानरपालिकाले घर नक्सा पास गर्दा समस्या भएको छ।' 

वडा नम्बर ३ को चटकपुर, बडहरा, विशालनगर र मिलनचोकसहितको क्षेत्रमा पानीको निकास थुन्ने गरी सडक र भवन बनाउने काम भएको स्थानीयको भनाइ छ। स्थानीयले बोराडाँडी व्यारेक हुँदै वडा नम्बर ४ तथा राजपुरदेखिको पानी केदारटोल, चटकपुर, बडहरा, विशालनगर, मिलनचोक हुँदै २ नम्बरको तिल्के ताल भएर मोहना नदीमा बग्ने गरेको बताएका छन्। ३ नम्बर वडामा बनेको रिङरोड तथा भित्री सडक बनाउँदा पानी निकास हुने नाला, नहर र कुलो थुन्ने काम भएको बताइएको छ।

चटरपुरमै मणिलेक स्कुल पछाडिको नहरलाई भर्खरै सडक बनाएर नयाँ घरहरु निर्माण गर्ने काम भइरहको छ भने विशालनगरको जनता आधारभूत स्कुलको एउटा भवन नै नहर मिचेर बनाइएको छ। नहर तथा कुलोलाई बाटो देखाएर उपमहानगरपालिकाले घर नक्सा पास गर्ने गरेको भए पनि वडा कार्यालयले पानी बग्ने नाला, नहर र कुलोलाई देखाएर कित्ताकाट, नक्सा पास तथा घर नक्सा पास रोक्न नसकेको पाइएको छ।

तर वडा अध्यक्ष ऐरले भने उपमहानगरपालिकाबाट नक्सा पास गरेर आउने गरेकोले समस्या भएको दाबी गरेका छन्। 'मैले थाँहा पाएसम्म त नक्सा पास रोक्ने काम गरेको छु,' उनले भने, ' वडा तथा उपमहानगरपालिकाका अमिनको कारण घर नक्सा पास भएका छन्।' 

विगतमा धनगढी नगर विकास र उपमहानगरपालिका तथा अहिले उपमहानगरपालिकासँगै नापी कार्यालय, मालपोत कार्यालय र जग्गा व्यापारीको मिलेमतोमा सार्वजनिक नाला, नहर र कुलोलाई सडक देखाएर सर्वसाधारणलाई झुक्याउने काम भइरहेको स्थानीयले बताएका छन्। सर्वासाधारणले धनगढी उपमहानरपालिकाका नगरप्रमुख नृपबहादुर वडले खोलानाला अतिक्रमण हटाउने बताउने गरेको भए पनि भित्रभित्रै पानी बग्ने क्षेत्र मासेर घर नक्सा पास गर्ने गरेको आरोप लगाएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस