सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ कैलाली बहुमुखी क्याम्पसको ४१ बर्से यात्रा

२०७८ माघ १९, ०७:०४ नारायण अवस्थी

धनगढी: २०३७ साल माघ १९ गते सामुदायिक क्याम्पसको रुपमा धनगढीमा कैलाली बहुमुखी क्याम्पसको स्थापना गरिएको थियो।  पञ्चायत कालमा सामुदायिकस्तरमा कलेज खोल्न दिने नियम बनेपछि सेती अञ्चलका तत्कालिन अञ्चलाधिश रत्नबहादुर गुरूङको प्रयासमा वाणिज्य संकायमा आइकमको पढाई गर्न उक्त क्याम्पस स्थापना भएको थियो। सुरुमा हसनपुरमा रहेको पञ्चोदय विद्यालयको भवनमा कक्षा सञ्चालन गरिएपनि पछि अञ्चलाधिशकै प्रयासमा राजा वीरेन्द्रबाट अहिले क्याम्पस रहेको ठाउँको २७ बिघा जग्गा प्राप्त भएको  थियो।

त्यसपछि मात्रै नेपाली सेनाको सहयोगमा क्याम्पस भवन बनेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रहिसकेका प्राध्यापक डाक्टर हेमराज पन्तले बताए। ‘त्रिभुवन विश्व विद्यालयले सामुदायिक क्याम्पस खोल्न पाउने नियम बनेपछि २०३७ सालमा देशभर ३७ क्याम्पस खुलेका थिए। जसमा एउटा कैलाली बहुमुखी क्याम्पस पनि परेको थियो’, उनले भने, ‘तत्कालिन सेती अञ्चलका अञ्चलाधिश रत्नबहादुर गुरूङको पहलमा स्थानीयको समेत सहयोगमा क्याम्पस खुलेको हो।’

धनगढीका समाजसेवी व्यापारी, कर्मचारी तथा सर्वसाधारणको आर्थिक सहयोगमा स्थापना भएर सञ्चालन भएको कैलाली वाणिज्य क्याम्पसमा २०३८ बाट अन्य संकायको पढाई सुरु भएपछि बहुमुखी नाम थपिएको थियो। सुरुको वर्ष १ सय ४५ जना विद्यार्थी भर्ना भएको क्याम्पसमा त्यसपछि भने निरन्तर विद्यार्थीको संख्या बढेको छ। अहिले सुदूरपश्चिमसहित देशभरका हजारौं विद्यार्थीको शिक्षा हासिल गर्ने थलो कैलाली बहुमुखी क्याम्पस भएको छ। तर क्याम्पस स्थापना हुनुपूर्व भने यहाँका अभिभावकले आफ्ना सन्तान पढाउन काठमाडौं या भारत पठाउनुपर्ने बाध्यता रहेको क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष घनबहादुर शाहले बताए। उनले भने, ‘अञ्चलाधिश गुरुङ शिक्षा प्रेमी भएकोले २०३७ मा क्याम्पस स्थापना गर्न सहज भएको थियो।’

सामुदायिक क्याम्पसको रुपमा देशमै पहिचान बनाएको कैलाली बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्व विद्यालयको आङ्गिक बनाउनुपर्ने मागसमेत उठेको थियो। सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका लागि पनि धनगढीवासीले आवाज उठाएका थिए। गत वर्षदेखि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आङ्गिक क्याम्पस बनेको भएपनि यो निर्णयप्रति सर्वसाधारणले दुःख व्यक्त गरेका थिए। 

अहिले क्याम्पसमा वाणिज्य, विज्ञान, शिक्षा, मानविकी र कानून संकायमा स्नातक र स्नातकोत्तर तहमा हरेक वर्ष ६ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन्। तर साधारण धारसँगै प्राविधिक धारमा वन विज्ञान र इन्जिनियरीङको पढाई गर्न पूर्वाधार निर्माणको काम भइरहेको क्याम्पस प्रमुख डाक्टर धर्मराज उपाध्यायको दाबी छ।

‘गत वर्ष हामी सुदूरपश्चिम विश्व विद्यालयको आङ्गिक भएका हौं। अहिले क्याम्पसमा बिएससी सिएसआइटी लगायतका नयाँ विषयको पठनपाठन भइरहेको छ’, उनले भने, ‘कैलाली बहुमुखी क्याम्पसमा यो वर्ष वन विज्ञान र लगत्तै इन्जिनियरीङको पढाई गर्ने हिसाबले काम भइरहेको छ।’

कैलाली बहुमुखी क्याम्पसले विभिन्न संकायमा देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको इतिहास रचेको छ। सुदूरपश्चिममा सबैभन्दा धेरै शैक्षिक जनशक्ति उत्पादन गर्ने कैलाली क्याम्पस सरकारी क्याम्पसमा परिणत भएपछि गुणस्तर खस्किने चिन्तासमेत गरिएको छ। तर क्याम्पस प्रशासनले भने कम शुल्कमा स्तरीय जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस