सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक मिचेर गाडी पार्किङ, हैरान ट्राफिक प्रहरी

२०७८ माघ १९, ०७:२२ विन्दु चन्द

धनगढी : कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने सवारी पार्किङ हट्न सकेको छैन। सडकको एउटा लेन नै कब्जा गरेर सवारी पार्किङ हुँदा आवतजावतमा भने सास्ती बढ्दै गएको छ।

जथाभावी गरिएको सवारी पार्किङले आवागमनमा सास्ती बढाएको स्थानीय नवराज ओझाले बताए। उनले भने, ‘जहाँ पायो त्यहीँ पार्किङ गरिएको हुन्छ। यसले सडक क्रस गर्न समस्या भइरहेको छ। त्यसैमा ६ लेन सडकमा जथाभावी गाडी घुमाउने, लेन मिचेर सवारी तिब्र गतिमा चलाउने समस्या पनि छ।’जथाभावी सवारी पार्किङले हिँडडुल गर्ने मुस्किल भइरहेको उनले बताए। ६ लेन सडकको ट्राफिक चौराहमा महेन्द्रनगर, अत्तरिया, टीकापुर, नेपालगञ्ज जाने सार्वजनिक सवारी पार्किङ गरिएका हुन्छन्। 

सार्वजनिक बस, म्याजिक तथा हायसका कारण चौराहमा ट्राफिक जाम हुने गरेको छ। तर सवारी चालकहरुले भने पार्किङस्थल नहुँदा समस्या भइरहेको गुनासो गरेका छन्। उनीहरुले यातायात समितिहरुलाई पटकपटक आग्रह गर्दा पनि पार्किङ स्थलका लागि बेवास्ता गरिएको गुनासो गरेका छन्। कुनै विकल्प नभएपछि सडकमै पार्किङ गर्न बाध्य भएको सवारी चालक बसन्त चौहानले बताए। उनले भने, ‘पार्किङ स्थल नै छैन कहाँ गर्ने ? बसपार्क जाँदा उताबाट तपाईहरुका लागि ठाउँ छैन भनेर लखेट्छन्।'

सडकमा पार्किङ गर्न हुन्न भन्ने थाहा भए पनि पार्किङ स्थल नहुँदा सडकमै सवारी पार्किङ गर्ने गरेको अर्का सवारी चालक अब्दुल हसनले बताए। ‘हामीलाई यहाँ पार्किङ गर्ने रहर होइन,' उनले भने, 'जोखीम हुन्छ हामीलाई पनि थाहा छ। तर पार्किङका लागि ठाउँ बनाइदिनु पर्यो।’ पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरहरु पार्किङ हुँदै आएको मोनापुल–अत्तरिया ६ लेन सडकमा अहिले ट्रक तथा सार्वजनिक सवारी पार्किङ गरिएका हुन्। 

सडकमा हुने सवारी पार्किङ हटाउन प्रहरीलाई सकस भइरहेको छ। सडकमा पार्किङ गर्नेलाई कारबाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी निरीक्षक वकिल सिंहले बताए। उनले भने,‘लागेको बानी हटाउनै समस्या छ। डिउटीमा प्रहरी देख्दा कसैले पार्किङ गर्दैन, तर जब प्रहरीको ड्युटी सकिन्छ अनि फटाफट पार्किङ गर्न सुरु हुन्छ।' ह्विललक गरेर कार्बाही गर्दा पनि अटेरी भइरहेको उनले बताए।

'अहिले ६ लेन सडक पनि निर्माणाधिन रहेकोले समस्या भएको छ, 'उनले भने, 'निर्माण सकिए सबै समस्या सामाधान हुन्छ। हामीले जथाभावी पार्किङ गर्नेलाई कार्बाही गरिरहेका छौँ।’ तर धनगढी–अत्तरिया सडकमा डिभाइडरले छुट्याइएको एउटा लेन सार्वजनिक र ठूला सवारीको पार्किङस्थल बनेको छ। प्रहरीको ध्यान मोटरसाइकलमा मात्र केन्द्रीत रहेको गुनासो बढीरहेको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस