सुदूर पहाडमा जनसंख्या घट्दो, सामाजिक–आर्थिक विकास प्रभावित
धनगढी: सुदूरपश्चिम प्रदेशका ५ पहाडी जिल्लाको जनसंख्या हरेक जनगणनामा घटिरहेको छ। त्यसको विपरीत तराईमा भने हरेक जनगणनामा जनसंख्या बढीरहेको छ। तराईमा पहाडी जिल्लाबाट बसाइसराईका कारण जनसंख्या बढ्ने गरेको छ, भने पहाडी क्षेत्रबाट विभिन्न सुविधा र अवसरको खोजीमा निरन्तर तराई क्षेत्रमा बसाइसाराई हुने गरेको छ।
अव्यवस्थित बसाइसराईकै कारण तराईमा अत्यधिक जनसंख्या तथा पहाडी क्षेत्रमा न्यून जनसंख्याको हुँदा सामाजिक–आर्थिक विकास प्रभावित हुने चिन्ता गरिएको छ। नागरिकलाई पहाडमै रोक्न आधारभूत आवश्यकता पूर्ति गर्न तीन तहकै सरकारले काम गर्नुपर्ने सुझाव दिइएको छ।
तथ्याङ्क विभागले गत बुधाबार सार्वजिनक गरेको २०७८ को जनगणनाको प्रारम्भिक विवरणअनुसार सुदूरपश्चिम प्रदेशका ५ पहाडी जिल्लाको जनसंख्या घटेको छ। हिमाली दुई जिल्ला दार्चुला र बाजुरामा जनसंख्या थोरै बढेको भएपनि बैतडी, डडेल्धुरा, डोटी, बझाङ र अछामको जनसंख्या भने घटेको छ। पहाडबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा हुने गरेको अव्यवस्थित बसाइसराईको कारण पहाडी जिल्लाको जनसंख्या घटेको सुदूरपश्चिम विश्वविद्यालयका जनसंख्या शास्त्रका सह–प्राध्यापक डाक्टर महेन्द्रराज जोशीले बताए। ‘नेपालको पछिल्ला हरेक जनगणनामा पहाडी क्षेत्रको जनसंख्या घटेको देखिन्छ’, उनले भने, ‘पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा बसाइसराईकै कारण तीव्र जनसंख्या वृद्धि भइरहेको छ।’
पहाडी क्षेत्रमा जनसंख्या घटेको कारण खेतीयोग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा ह्रास आएको छ भने, अर्थतन्त्रमा पहाडी क्षेत्रको योगदान घटेको छ। पहाडी क्षेत्रबाट शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक सुविधाका लागि तराई क्षेत्रमा बसाई सर्ने क्रम बढ्दा पहाडी क्षेत्र र तराई क्षेत्रमा जनसंख्याको असमान वितरण देखिएको सह–प्राध्यापक जोशीले दाबी गरे।
कुनैपनि ठाउँको आर्थिक–समाजिक विकासका लागि जनसंख्याले महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरुको भनाई छ। बढी जनसंख्या भएको ठाउँमा श्रम गर्ने जनशक्तिको सहज उपस्थितिले विकास निर्माण तथा उद्योग, कलकारखानाको प्रचूर विकास हुने भए पनि स्रोत साधनको अत्यधिक दोहनले प्राकृतिक तथा सामाजिक समस्या बढ्ने औंल्याइएको छ।
तर जनसंख्या घटेको अवस्थामा भने जनशक्ति अभावले विकास निर्माणसँगै सामाजिक–आर्थिक गतिविधि नराम्ररी प्रभावित हुने बताइएको छ। पहाडी क्षेत्रको जनसंख्या घट्न नदिन सरकारले पहाडी क्षेत्रमा विकास निर्माण लगायत गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी र मनोरञ्जनको सुनिश्चितता गर्न आवश्यक रहेको सह–प्राध्यापक जोशी बताउँछन्। ‘पहाडी क्षेत्रको जनसंख्या थप घट्न नदिन पहाडी तथा दुर्गम क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारले आर्थिक तथा भौतिक विकास गर्न विशेष पहल गर्नुपर्छ। सरकारले जनसंख्या पहाडमै टिकाउने किसिमका नीति बनाउनु आवश्यक छ।’ उनले भने।
२०६८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ थियो। २०७८ मा बढेर सुदूरपश्चिमको जनसंख्या २७ लाख नाघेको तथ्याङ्क विभागले जनाएको छ। कैलालीमा १० वर्षको अन्तरालमा १ लाख ३५ हजार ४४६ जना थपिएका छन् भने, कञ्चनपुरमा ६६ हजार ३९७ जना थपिएका छन्। हिमाली जिल्ला दार्चुलामा १ हजार ७८२ र बाजुरामा ४ हजार ८६ जना बढेका छन्। बैतडीमा ६ हजार ४९८, डडेल्धुरामा २ हजार ६७४, डोटीमा ६ हजार ६३ ले जनसंख्या घटेको छ भने, अछाममा सबैभन्दा धेरै २७ हजार ६६१ ले जनसंख्या घटेको तथ्याङ्क सार्वजनिक भएको छ।