सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका २ तिहाई बालबालिकामा कुपोषण

२०७८ माघ १५, १०:२७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका झण्डै २ तिहाई बालबालिकामा कुपोषणको समस्या रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक गरेको प्रदेश स्वास्थ्य प्रतिवेदनमा प्रदेशका बालबालिकाहरुमा पुड्कोपना, ख्याउटेपना, कम तौल, जन्मिँदै कम तौल तथा पूर्ण स्तनपान नगराउने समस्या रहेका छन्।  सुदूरपश्चिम प्रदेशका पाँच वर्ष मुनिका बालबालिकामध्ये ४०.९ प्रतिशतमा पुड्कोपना, १४.१ प्रतिशतमा ख्याउटेपना देखिन्छ। यस्तै प्रदेशमा ५ वर्ष मुनि कम तौल भएका बालबालिका ३३.३ प्रतिशत र जन्मिँदै कम तौल भएका बालबालिकाहरु २०  प्रतिशत रहेका छन्। 

सुदूरपश्चिम प्रदेशको कुपोषणको समस्या समाधानको लागि प्रदेश सरकार सधै अगाडि रहेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए। शुक्रबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले नीति तथा कार्ययोजना कार्यान्वयन गर्ने तहमा पुग्न नसकेको बताएका छन्। उनले तिनै तहका सरकारबीच समन्वयको अभाव रहेको बताए।  स्वास्थ्य क्षेत्रलाई महत्त्वका साथ अगाडि बढाउन प्रदेश सरकारले ४० प्रतिशत बजेट सोही क्षेत्रमा विनियोजन गरेको र स्वास्थ्य कार्यालयलाई बलियो बनाउनुपर्ने मन्त्री खड्काले बताए।  

सोही कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण प्रमुख लिला विक्रम थापाले विगतको भन्दा पोषणको अवस्थामा सुधार आएको र महिला, बालबालिका, गर्भवती, सुत्केरी महिलाको अवस्थामा सुधार ल्याउनेबारे तिनै सरकारबीचको समन्वय सहकार्य बढाउनुपर्नेमा जोड दिए। 

स्वास्थ्य निर्देशनाालयले प्रदेशको पोषणको अवस्था सुधारको लागि स्वास्थ्य कार्यालय प्रमुखहरुसँग १८ बुँदे प्रतिवद्धता समेत गरेको छ। सुदूरपश्चिम प्रदेशमा पोषणको क्षेत्रमा कार्यक्रम तथा नयाँ गतिविधि बढाउनुपर्ने स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले बताए। 

कमेन्ट लोड गर्नुस