बैतडीमा १ लाख बढीले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
धनगढी : बैतडीमा एक लाख बढी नागरिकले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। जिल्लामा १ लाख ६ हजार २५२ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
खोपको पहिलो मात्रा लगाउनेको संख्या १ लाख ४० हजार २२५ छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार १२ वर्ष माथिका पूर्ण खोप लगाउने ३९.५ प्रतिशत रहेका छन् भने पहिलो मात्रा लगाउने ५२.२ प्रतिशत रहेका छन्। त्यस्तै, १८ वर्षमाथिका ६०.३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् भने ६१.१ प्रतिशतले पहिलो मात्रा लगाएका छन्।
सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ११८ जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै, पुर्चौंडी नगरपालिकामा पहिलो मात्रा खोप लगाउनेको संख्या २० हजार ८०१ र पूर्ण मात्रा लगाउनेको संख्या १२ हजार ७९१ छ।
मेलौली नगरपालिकामा पहिलो मात्रा लगाउनेको संख्या १३ हजार ६५९, पूर्ण मात्रा लगाउनेको संख्या ७ हजार ४९५, डिलाशैनी गाउँपालिकामा पहिलो मात्रा लगाउनेको संख्या १७ हजार ७३३, पूर्ण मात्रा लगाउनेको संख्या ८ हजार ४४३, दोगडाकेदार गाउँपालिकामा पहिलो मात्रा लगाउनेको संख्या १३ हजार ८१८ जना र पूर्ण मात्रा लगाउनेको संख्या ८ हजार ५९५ जना छ।
यसैगरी सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा, ६ हजार ७८४ जनाले पूर्ण मात्रा, सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा, ६ हजार ४०९ जनाले पूर्ण मात्रा, पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा, ६ हजार ९९५ जनाले पूर्ण मात्रा र शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा र ४ हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ।