सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विद्युतको घरेलु मिटर पाउनै मुस्किल

२०७८ माघ १३, ०५:२८ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा विद्युतको घरेलु मिटर पाउनै मुस्किल हुन थालेको छ। विगतदेखि नै महिनौंसम्म मिटरका लागि कुनुपर्ने बाध्यता रहेको छ। निवेदन दिएको महिनौंसम्म पनि मिटर नपाउँदा सेवाग्राहीे मर्कामा परेका छन्। 
घर निर्माण सम्पन्न भएर पनि मिटर अभावले बिजुली जडान गर्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन्। सर्वसाधारणले भदौदेखि नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले मिटर नदिएको बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणले विद्युतीय मिटर उपलब्ध नगर्दा समस्यामा भएको नयाँ घर धनीले बताएका छन्। लाखौं खर्च गरेर घर निर्माण गरे पनि मिटर जडान गर्न नसक्दा स्थानीय तहबाट घर निर्माण सम्पन्न भएको प्रमाणपत्र पाउन पनि समस्या भएको बताइएको छ। धनगढी वितरण केन्द्रमा मिटरका लागि जाँदा मिटर नभएको जबाफ कर्मचारीले दिने गरेको धनगढीका स्थानीय तिलक खतिवडाले दिनेशखबरसँग बताए। ‘भदौदेखि धनगढीमा मिटर पाउन सकिएको छैन। मिटर नपाउँदा घरमा बस्न सकिएको छैन’ उनले भने। 

उता धनगढी वितरण केन्द्रले भने तिहारसम्म मिटर रहेको तर तिहार लगत्तै मिटरको मौज्दात  सकिएको जनाएको छ। तिहारदेखि हालसम्म मिटर जडानका लागि करिब तीन हजार निवेदन प्राप्त भएको धनगढी वितरण केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले बताए। ‘भदौदेखि त मिटरको अभाव छैन। तिहार लगत्तै मिटर अभाव भएको हो। केन्द्रबाट आएपछि वितरण गर्ने छौँ’ उनले भने।

नेपाल विद्युत प्राधिकरणले धनगढीमा मात्रै नभएर देशभर अहिले घरेलु मिटरको अभाव रहेको जनाएको छ। तर यो महिनाको अन्त्यसम्म सुदूरपश्चिमका सबै वितरण केन्द्रमा नयाँ मिटर पुग्ने दाबी नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख जंगबहादुर चन्दको छ। उनी भन्छन्, ‘अहिले देशभर नै मिटर अभाव छ। प्राधिकरणले खरिद पनि गरेको छ। माघको अन्त्यसम्म सुदूरपश्चिममा पनि मिटर वितरण हुन्छन्।’

विद्युत प्राधिकरणले ग्राहकले निवेदन दर्ता गर्ने तर मिटर पाउने समयमा कार्यालयमा उपस्थित नहुने गरेको कारण पहिला दर्ता गरेका ग्राहकले मिटर नपाएको गुनासो गर्ने गरेको जनाएको छ। निवेदन दर्ता गरेपछि तोकिएको समयमा कार्यालयमा उपस्थित भए सहजै मिटर उपलब्ध हुने गरेको दाबी गरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस