सुदूरपश्चिमको राजधानीकै बस्तीमा पुगेको छैन बिजुली
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र एकमात्र उपमहागरको बस्तीमा बिजुली पुगेको छैन भन्दा पत्याउन मुस्किल होला। तर धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ देवहरीयाका स्थानीय बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य छन्। पोल गाडेको ८ वर्ष बितिसक्दा समेत लाइन बिस्तार नहुँदा उनीहरु अँध्यारोमै बस्न बाध्य भएका हुन्। बिजुली नहुँदा समस्या भएको स्थानीय धनादेवी ओझा बताउँछिन्। ‘८ वर्ष भइसक्यो यहाँ बस्न थालेको तर बत्ती नै छैन। अर्काको घरबाट लाइन तानेर जोहो गर्नुपरिरहेको छ’ उनले भनिन्।
देवहरीयाको उक्त बस्तीमा ३५ देखि ४० परिवारको बसोबास छ। बत्ती जडान नहुँदा कतिपय परिवारले धेरै टाढाबाट लाइन तानेर जेनतेन गुजारा चलाइरहेका छन्। उक्त बस्तीमा कतिपयको घरमा सोलार जडान गरिएको छ त कतिपय अँध्यारोमै बस्न बाध्य छन्।
विद्युत जडानका लागि दुई पटकसम्म स्थानीयबाट रकम संकलन समेत गरिएको थियो। तर पनि बस्तीमा बत्ती नपुग्दा हैरानी खेप्नुपरिरहेको अर्का स्थानीय टेकराज जोशीले बताए। उनले भने, ‘यहाँ ठूलो बस्ती बसिसकेको छ। पटक–पटक निवेदन दिँदा पनि कुनै निकायले चासो दिदैन। आज भोलि भन्दै टारिदिने र आलटाल गरेका छन्।’ एउटै घरबाट दर्जन घरले बिजुलीको लाइन तान्दा भोल्टेज कम हुने गरेको उनले बताए।
उक्त गाउँमा बिजुली नहुँदा सबैभन्दा बढी विद्यार्थी समस्यामा छन्। कोरोना महामारीले अनलाइन कक्षा जारी रहेको अवस्थामा मोबाइल चार्ज गर्न समेत बजार पुग्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय विशाल जोशीले बताए। ‘राजधानीमै अँध्यारोमा बस्नुपर्दा दुःख लाग्छ। तार बिस्तार गरिदिन वर्षपिच्छे निवेदन दिन्छौँ तर कुनै वास्ता नै हुँदैन’ उनले भने। ५०० मिटर टाढाबाट तार तानेर जोहो गरिरहेको उनले बताए। एउटै घरमा २÷३ सब मिटर जडान गरेर बत्तीको जोहो गरिरहेको समेत जोशीले बताएका छन्।
यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले भने बजेट नहुँदा लाइन विस्तार गर्न नसकिएको बताएको छ। पोल गाडेपनि तार अभाव हुँदा बत्ती जडान गर्न नसकिएको विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका इन्जिनियर रोशन कुमार ठाकुरले बताए। ‘पोल पहिले नै गाडिएको छ। तारको टेन्डर भएकोमा सप्लायर्सले तार सप्लाइ गर्न केही कारणले ढिला गरेको हुँदा त्यहाँ तार बिछ्याउन सकिएन’ उनले भने, ‘यो वर्ष धनगढी उपमहानगरपालिकामा बिजुली जडान गर्नका लागि छुट्याइएको बजेट सकिएको छ। थप बजेट माग भएको छ। बजेट आए त्यहाँ बिजुली जडान गरिन्छ।’