भारतबाट आएका संक्रमित धनगढीको आइसोलेसनमा, १० दिनपछि विना परीक्षण घर
धनगढी: अहिले भारतबाट त्रिनगर गौरीफन्टा सीमा नाका हुँदै स्वदेश फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ। उनीहरुको नाकामै ऐन्टिजेन विधिबाट परीक्षण भइरहेको छ। त्यहाँ संक्रमण पुष्टि भएकालाई धनगढीको कनरीमा रहेको आइसोलेसनमा राखिँदै आइएको छ। लक्षणसहित संक्रमण पुष्टि भएको १० दिनसम्म उनीहरुलाई आइसोलेसनमा राखिँदै आएको छ। तर १० दिनपछि विना परीक्षण घर पठाउने गरिएको कनरी आइसोलेसमा रहेका संक्रमित मोतीराम चौधरीले बताए। समयमा औषधि नदिने र परीक्षण नगर्ने उनको गुनासो छ।
कतिपय संक्रमितलाई त वडाको सिफारिसका आधारमा सोझै घर पनि पठाइँदै आएको बताइएको छ। आइसोलेसनको व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्दै आएको छ। कार्यालयले संक्रमितलाई खाना र न्यानो लुगाहरुको व्यवस्थापन गरेको हो।
अहिले दैनिक ४० बढी संक्रमित उक्त आइसोलेसनमा थपिने गरेका छन्। उनीहरुलाई आ–आफ्नो वडाको सिफारिसको आधारमा घर पठाउन लागिएको आइसोलेसनकी कर्मचारी लक्ष्मी मल्लले बताइन्। ‘खानादेखि न्यानो लुगा ओढ्ने ओछ्याउने लुगाको व्यवस्था स्वास्थ्य कार्यालयले नै गरेको छ। कहिलेकाँही त दिनमा ७० भन्दा बढी पनि पुग्छन्। घर जान चाहनेहरुलाई वडाको सिफरिस लिएर पठाइने गरिएको छ’ उनले भने।
स्वास्थ्य कार्यालयले अन्य व्यवस्थापन गरे पनि परीक्षणको व्यवस्था भने गरेको छैन। स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागकै निर्देशन भएकाले परीक्षण नगरिरहेको स्वास्थ्य कार्यालयको तर्क छ। १० दिनपछि पनि लक्षण भएकाहरुलाई कोराना अस्पताल पठाइरहेको र बाँकीलाई घर पठाइरहको बताइएको छ।
१० दिनको बीचमा लक्षण देखिए कोरोना अस्पतालमा भर्ना गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। उनले लक्षण नभएकाहरुलाई घर पठाउने गरिएको बताए। १० दिनसम्म मात्रै अरुलाई सर्ने भएका कारण १० दिनपछि परीक्षण नगरिएको उनको भनाइ छ। ‘यो स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागकै निर्देशन हो। दिन पुगेपछि पनि परीक्षण गराउन चाहनेहरुलाई मात्रै परीक्षण गरिरहेका छौँ’ उनले भने।