सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदूषित आगो ताप्दै धनगढीवासी

२०७८ पुष २४, ०४:१९ विन्दु चन्द

धनगढीः मौसममा आएको बदलीका कारण तराइमा पनि अत्यधिक चिसो बढेको छ। अहिले पहाडी क्षेत्रमा वर्षा तथा हिमपात भइरहेकाले तराइमा चिसो बढेको हो। चिसो बढेपछि तराइवासी फोहर(प्लाष्टिक) बालेर आगो तापिरहेका छन्। दाउरा नहुँदा फोहर तथा प्लाष्टिक बालेर आगो ताप्नु परिरहेको धनगढीका स्थानीय स्वइच्छा भट्टले बताइन्। ‘दाउरा नै पाइरहेको छैनौं। दाउरा नभएर फोहरमा भएका कागज र प्लाष्टिक बालेर आगो तापिरहेका छौँ’ उनले भनिन्। 

गत वर्षहरुमा डिभिजन वन कार्यालय र स्थानीय तहले दाउरा बाँड्दै आएका थिए। तर यसवर्ष भने चिसो बढ्दा पनि दाउरा बाँडिएको छैन। दाउरा बाँड्छनु भन्ने मात्रै सुनेको तर अत्यधिक चिसो हुँदा पनि दाउरा नदिएको धनगढीकै मजदुर जगतबहादुर मिजारको गुनासो छ। उनी धनगढी चौराहामा दिनभरी जुत्ता सिएर बसिरहेका हुन्छन्। नजिकै खैनीका खोल तथा प्लाष्टिक बालेर आगो ताप्दै उनी जुत्ताको काम गरिरहेका हुन्छन्। उनले समयमै दाउरा दिए सहज हुने बताएका छन्। ‘हामीलाई कसैले हेर्दैनन्। दिनभरी काम गर्नुपर्छ। दाउरा नभएर प्लाष्टिक बाल्नुपर्ने बाध्यता छ’ उनले भने।  

धनगढी र आसपासका क्षेत्रमा त जताततै फोहर तथा प्लाष्टिकजन्य पदार्थ बालेर आगो ताप्न थालिएको छ। जसले प्रदूषण फैलिएर स्वास्थ्यमा समेत असर गर्ने चिन्ता गरिएको छ। जताततै फालिएका फोहर बालेर प्रदूषण बढेको अर्का स्थानीय जितेन्द्र भट्राई बताउँछन्। ‘चिसोमा दाउरा तथा न्यानो लुगा बाँड्ने भनेर विभिन्न कार्यक्रम ल्याइन्छन्। तर ती समयमै कार्यान्वयनमा आउँदैनन्। नागरिक पाउने आसमा बसेको हुन्छ। चिसो सकिएपछि बाँिडिएको के काम ?’ उनले प्रश्न गरे। 

विगतका वर्षहरुमा डिभिजन वन कार्यालयले पनि विभिन्न चोक तथा बस्तीहरुमा दाउरा बाँड्दै आएको थियो। तर यस वर्ष भने कुनै सुरसार छैन। दाउरा बाँड्ने वा नबाड्ँने भन्नेबारे अहिलेसम्म कुनै किसिमको छलफल नभएको डिभिजन वन कार्यालय कैलालीका सूचना अधिकारी डबल बोहराले बताए। ‘यस विषयमा अहिले कुनै छलफल भएको छैन। विगतमा त दाउरा बाँडेका थियौँ। यस वर्ष दाउरा कति स्टाक छ हेरेर अनि छलफल गर्छौ’ उनले भने।  

केही दिनयता बढेको अत्यधिक चिसो र शितलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित बन्दै गएको छ। शितलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जिविका चलाउने बढी प्रभावित भइरहेका छन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस