सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झन्डै १६ करोडका १५ विद्यालय भवनको निर्माण कार्य अलपत्र

एकै निर्माण कम्पनीलाई ३ भवनको ठेक्का

२०७८ पुष २१, ०३:३८ विन्दु चन्द

धनगढी: धनगढी उपमहानगरपालिकाभित्रका १५ वटा विद्यालयका भवन निर्माण गर्न गत वर्षको पुसमा सम्झौता भएको थियो। धनगढी उपमहानगरपालिकाले १५ भवनको १५ करोड ८३ लाख ५७ हजार रुपैयाँमा एक वर्षमा काम पूरा गर्न सम्झौता गरेको थियो। एक वर्षभित्र विद्यालयका भवन निर्माणको काम पूरा गर्न सम्झौता भएकोमा भवनका पिल्लर गाढेर अलपत्र छाडिएको छ। जबकी भवन निर्माणको समय पुस मसान्त सम्मको मात्र छ।

विद्यालय भवन निर्माणको काम अलपत्र छोडिदिँदा समस्या भइरहेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक मोहन भण्डारीले बताए। उनले निर्माण व्यवसायीको लापवाही र सम्बन्धित निकायको बेवास्ताका कारण विद्यार्थीहरुले सास्ती खेप्नु परिरहेको गुनासो गरे। ‘पटक–पटक ठेकेदारसँग कुरा गर्दा पनि आज–भोलि भनेर टारिदिने गरेको छ। उपमहानगरपालिको पनि बेवास्ता छ। हामीलाई कक्षा कोठा मिलाउनै समस्या भइरहेको छ’ उनले भने। एउटै निर्माण कम्पनीलाई ३/३ ठेक्का दिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको उनको गुनासो छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको शारदा माविको भवन निर्माणका लागि पनि पिल्लर मात्र गाढीएको छ। भवन निर्माणको अवधि सकिन १० दिन मात्रै बाँकी रहँदा काम अगाडि बढाइएको छैन। एकातिर भवन अलपत्र छाडिएको छ भने अर्कोतिर निर्माण सामग्री जथाभावी अलपत्र छोडिदिँदा विद्यार्थीहरुलाई समस्या भइरहेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घराज जोशीले बताए। उनले भने, ‘हामीलाई कक्षाकोठा मिलाउन समस्या त छँदै छ। झन निर्माण सामग्री फिल्डमा जथाभाबी फालिँदा विद्यार्थीहरुलाई आउँजाउँ गर्नै समस्या भइरहेको छ। अहिले त धेरै महिना भयो विद्यालयको फोन पनि उठाइरहेको छैन।’ 

निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको गुनासो गरिएको छ। तर निर्माण कम्पनीले भने कोरोना महामारीको बहाना बनाउँदै आएका छन्। उनीहरुले म्याद थप गर्न निवेदन समेत दिएका छन्।  कोरोनाका कारण भएको लकडाउन, बर्सातका कारण समयमै विद्यालय भवन निर्माण गर्न नसकेको शारदा मावि, दुर्गा र सरस्वती आधारभूत विद्यालयको भवन निर्माणको ठेक्का पाएको बडाटेडी कन्ट्रक्सनका सञ्चालक मुकेश बोगटीले बताए। ‘बर्सातको समयमा आएको खोलाका कारणले पनि समस्या भयो। कोरोना माहामारीका कारणले पनि केही महिना काम हुन सकेन’, उनले भने, ‘अहिले म्याद थपका लागि उपमहानगरपालिकालाई निवेदन दिएका छौँ। अब समयमै काम सम्पन्न हुन्छ।’

यता धनगढी उप–महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले पनि काठकै समस्याका कारण पनि समयमै कामम सम्पन्न हुन नसकेको बताएका छन्।  ‘कोरोना र बर्सातले पनि समस्या निम्त्यायो। अहिले काठ पाउन मुस्किल भइरहेको छ। सरकारले पनि कोरोनाले समस्या भएका निर्माणाधीन संरचना चैत्र मसान्त सम्मका लागि म्याद थप गर्ने भनेको छ। अब चैत्र मसान्तसम्म निर्माण सम्पन्न हुन्छ’ उनले भने। 

कुन विद्यालयमा कति रकम ?
१५ विद्यालयकाका लागि सम्झैता भएको १५ करोड ८३ लाख ५७ हजार रकममध्ये धनगढीको त्रिनगर माविमा ८५ लाख १९ हजार ७ सय ६३, वडा नम्बर १० को जनकल्याण माविमा ८ कोठे भवनका लागि ८८ लाख १६ हजार ३५३ र वडा नम्बर १७ को भानु माविमा ८ कोठे भवनका लागि ८७ लाख ८७ हजार १७२ मा सम्झौता भएको थियो। 

यस्तै वडा नम्बर १३ को नवज्योति आधारभुत विद्यालयमा ८ काठे भवनका लागि ८३ लाख ७९ हजार ८८८, वडा नम्बर १३ कै जनता राष्ट्रिय माविमा ८ कोठे भवनका लागि ८६ लाख २० हजार ४८२, वडा नम्बर १४ को पञ्चोदय माविमा ८ कोठे भवनका लागि ८६ लाख २० हजार ४८२, वडा नम्बर १२ को शारदा माविमा ८ कोठे भवनका लागि ८६ लाख २० हजार ४८२, वडा नम्बर १२ कै दुर्गा आधारभुत विद्यायालयमा ८ कोठे भवनका लागि ८६ लाख २० हजार ४८२ र वडा नम्बर ९ को सरस्वती आधारभुत विद्यालयमा ४ कोठे भवनका लागि ५३ लाख १८ हजार ३४१ मा सम्झौता भएको थियो। 

वडा नम्बर १६ को दिपेन्द्र चारपातेमा ४ कोठे भवनका लागि ५५ लाख २९ हजार १६५, वडा नम्बर १६ कै शिव माविमा ४ कोठे भवनका लागि ५६ लाख ५ हजार १९०, वडा नम्बर ५ को पञ्चोदय स्कुलकामा ४ कोठे भवनका लागि ५५ लाख १३ हजार ८४२, वडा नम्बर ४ को तुलसीराम राष्ट्रिय माविमा ४ कोठे भवनका लागि ५५ लाख २८ हजार २७६, वडा नम्बर १४ को जनजागृति स्कुलमा ४ कोठे भवनका लागि ४९ लाख ९६ हजार २१३ र  र वडा नम्बर ८ को धनगढी माविका लागि ५ करोढ ६८ लाख ८१ हजार ६९२ रकममा भवनको सम्झौता भएको थियो। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस