सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका बाढीपहिरो पीडितले अझै पाएनन् राहत

बझाङको थलरामा गएकाे पहिरो
बझाङको थलरामा गएकाे पहिरो
२०७८ पुष १८, ११:२४ विन्दु चन्द

धनगढीः सुदूरपश्चिमका बाढीपहिरो पीडितहरुले अझै राहत पाउन सकेका छैनन्। यस वर्ष राहत वितरणमा भएको ढिलाइका कारण बाढी पहिरोबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नागरिकहरु समस्यामा छन्। 

चालू आर्थिक वर्षमा प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा २५ करोड रकम प्राप्त भएको छ। प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम सबै जिल्लालाई पठाइसकिएको दाबी गरेको छ। तर धेरै जिल्लामा भने रकम नपुगेको बताइएको छ। प्रदेशबाट रकम र अख्तियारी नआउँदा कुन–कुन शिर्षकमा खर्च गर्ने भन्नेबारे समेत अन्यौलता बढेको छ। रकम तथा अख्तियारी पठाउने निर्णय गरेको भन्ने जानकारी आएपनि रकम प्राप्त नभएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। ‘के कसरी खर्च गर्ने भन्ने कुरा प्रदेशले नै निर्णय गरेर पठाउछ। आयो भने त्यसपछि तयारी गर्छौ। अहिले केही भन्न सकिँदैन’ उनले भने।   

प्रदेश सरकारको ऐन र कार्यविधि बाँझिएकाले डोटीमा पनि राहत रकम वितरण गरिएको छैन।  प्रदेश सरकारले एकमुष्ट रुपमा रकम पठाउने निर्णय गरिएकाले विपदमा परेकाहरुलाई राहत उपलब्ध गराउने मापदण्ड बमोजिम नै खर्च गरिने डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए। ‘प्रदेश सरकारको ऐन र कार्यविधि बाँझिएको छ। त्यसले समस्या गरिरहेको छ। पैसा दिने त भनेको छ अहिलेसम्म प्राप्त भएको छैन, रकम आए मापदण्ड अनुसार नै खर्च गरिन्छ’ उनले भने।  

गत कात्तिक पहिलो साता परेको अविरल वर्षाका कारण बझाङ र डोटीमा बढी क्षति भएकाले प्रदेश सरकारले दुई जिल्लालाई बढी रकम उपलब्ध गराएको छ। तर दुवै जिल्लाले रकम प्राप्त नभएको दाबी गरेका छन्। प्रदेशबाट भने दुई हप्ताअघि नै सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाहरुमा रकम निकासा गरिसकिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए।

प्रदेश सरकारले बाढीपहिरो पीडितका लागि बझाङमा ३५ लाख र डोटीमा ३० लाख रकम निकासा गरेको बताएको छ। अन्य ७ जिल्लामा भने २५/२५ लाखका दरले रकम पठाएको छ।  डोटी र बझाङ बाहेक अधिकांश जिल्लाहरुले भने राहत रकम पाइसकेको बताएका छन्। रकम प्राप्त भएपछि उनीहरु वितरणमा जुटेका छन्।

प्रदेशबाट प्राप्त भएको रकमबाट बाढी पीडितहरुलाई राहत उपलब्ध गराउने तथा बाढीपहिरोमा परी ज्यान गुमाउने परिवारलाई एक लाख बराबरको क्षतिपूर्ति अपलब्ध गराउने बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए। साथै उनले पीडितहरुलाई चीसोयाममा न्यानो कपडा समेत वितरण गर्ने जानकारी दिए। उनले उक्त रकम कसरी खर्च गर्ने भन्नेबारे जिल्ला विपद् व्यवस्थापनको बैठकले निर्णय गर्ने जानकारी दिए।    

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस