सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका युवाको पीडा : ढल्कियो उमेर, खुलेन लोकसेवा

२०७८ पुष १६, ०६:१६ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का रघुनाथ जोशीले लगातार पाँच वर्ष लोकसेवाको तयारी गरे। प्रदेश सरकार गठन भएपछि प्रदेश लोकसेवा गठन हुने र लोकसेवा आयोगले मनग्गे संख्यामा कर्मचारी भर्ना गर्न विज्ञापन गर्ने अपेक्षा जोशीको थियो।

ढिलो गरी गठन भएको लोकसेवा आयोगले विज्ञापन नखोलेपछि उनले तयारी गर्न पनि छोडेका छन्। तयारी छोड्नुको कारण भने उमेर हद हो। उमेरले ३५ कटेपछि अब उनी सरकारी सेवाका लागि अयोग्य भएका छन्। ‘लोकसेवा खुल्छ भन्दाभन्दै लगातार पाँच वर्ष तयारी गरेको थिए,’ उनले भने, ‘तर प्रदेशले लोकसेवामार्फत विज्ञापन खोलेन। अब त ३५ वर्ष पूरा भयो। परीक्षासमेत दिन नपाएकोले निकै दुःख लागेको छ।’

धनगढीकै मनेहराका ३२ वर्षीय सुरज चौधरी पनि विगत चार वर्षदेखि लोकसेवाको तयारीमा छन्। रातदिन पढेर आफ्नै प्रदेशमा सरकारी जागिर खाने धोको रहेको बताउने चौधरीमा पनि अहिले चिन्ता बढेको छ। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्न चासो नदिएपछि सरकारी सेवामा प्रवेश पाउने आशा चौधरीमा कम हुँदै गएको छ।

बाँकी रहेको तीन वर्षभित्र सरकारी सेवामा छिर्न नसके सदाका लागि बेरोजगार हुनुपर्ने चिन्ता चौधरीको छ। ‘आफ्नै प्रदेशमा जागिर खाने ठूलो धोको छ,’ उनले भने, ‘मैले तीन वर्षभित्र सरकारी सेवामा प्रवेश गर्न नसके सधैंका लागि बेरोजगार हुनुपर्ने चिन्ताले सताउन थालेको छ।’

प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा दरबन्दीअनुसार स्थायी कर्मचारी नहुँदा सरकारको कार्यसम्पादन नै प्रभावित हुँदै आएको छ। प्रदेश तथा स्थानीय तहरमा सबै तहका कर्मचारीको संख्या आवश्यकताको ५० उपलब्ध प्रतिशत पनि छैन। प्रदेश तथा स्थानीय तहको विभिन्न सेवामा प्रवेश गरेका तथा अब गर्न चाहनेहरुको वृत्ति विकासका लागि नियमित लोकसेवा खोल्नपर्ने भए पनि सुदूरपश्चिममा भने अझै विज्ञापन गर्ने कुनै सुरसार नै छैन।

प्रदेश लोकसेवाले सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरुलाई निराश बनाएको बैतडीका पूर्णानन्द अवस्थीको भनाई छ। ‘नियमित लोकसेवा खोल्नुपर्ने हो तर सुदूरपश्चिम प्रदेशमा मात्रै अहिलेसम्म लोकसेवा खुलेको छैन,’ उनले भने, ‘प्रदेश सरकार र लोकसेवा आयोगले छिटो विज्ञापन गरे हजारौं युवाले प्रतिस्पर्धा गरेर रोजगार हुन पाउँथे।’

खरिदार र नायब सुब्बाका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको उमेर हद तोकिएको छ। शाखा अधिकृत, उपसचिव र सहसचिवका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तर महिला र अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष उमेद हद छ। स्वास्थ्य सेवातर्फ अधिकतम ४५ वर्ष तोकिएको छ। तर हजारौं युवाले तयारी गर्दै आए पनि विज्ञापन नहुँदा निराशा बढ्दै गएको छ। प्रदेश लोकसेवा आयोगले भने प्रदेश सरकारका मन्त्रालय र स्थानीय तहबाट माग आकृति फाराम भरेर आउने वित्तिकै विज्ञापन गर्न तयार रहेको जनाएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस