सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा करार कर्मचारीको जागिर जोगाउन लोकसेवाको विज्ञापन खोल्न अटेरी

२०७८ पुष १२, ०५:५८ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम सरकारले करारमा राखेका कर्मचारीको जागिर जोगाउन लोकसेवा आयोगको विज्ञापन खोल्न आनाकानी गरेको आरोप लागेको छ। आयोगमार्फत विज्ञापन खोलेर कर्मचारी नियुक्त गर्न प्रदेश सरकार नै इच्छुक नदेखिएपछि यस्तो आरोप लागेको हो। 

सुदूरपश्चिमबाहेक अन्य प्रदेशले चार पटकसम्म लोकसेवा आयोगको विज्ञापन गरेर प्रदेश सरकार र स्थानीय तहका लागि कर्मचारी नियुक्त गरेका छन्। तर सुदूरपश्चिम प्रदेशमा भने प्रदेश लोकसेवा आयोगले एकपटक पनि विज्ञापन नगर्दा समय खेर गइरहेको सार्वजनिक सेवामा प्रवेश गर्न चाहेका युवाहरुले गुनासो गरेका छन्। 

करारमा राखिएका निकटका व्यक्तिको जागिर खोसिने चिन्ताले प्रदेश सरकारले लोकसेवा खोल्न नचाहेको लोकसेवाको तयारीमा रहेका युवा लीलाधर भट्टले गुनासो गरे। ‘लोक सेवाको तयारी गर्न थालेको चार वर्ष भइसकेको छ,’ उनले भने, ‘तर प्रदेश सरकारले पहुँचको भरमा निकटका व्यक्तिलाई जागिर दिएकाले लोकसेवा नखोलेको जस्तो हामीलाई लागेको छ।’

सुदूरपश्चिम प्रदेश सरकारका सात मन्त्रालय, मातहतका विभाग र कार्यालयका लागि २ हजार ६८५ स्थायी दरबन्दी स्वीकृत गरिएको छ। यस्तै ४३० अस्थायी दरबन्दी सिर्जना गरिएको छ। स्थायी र अस्थायी दरबन्दी मिलाएर प्रदेशमा ३ हजार ११५ दरबन्दी कायम गरिएको छ। तर प्रदेश सरकार मातहत काम गर्न एक हजार ४८० कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन्। 

रिक्त रहेका दरबन्दीमा प्रदेश सरकारले ६३९ कर्मचारी कारारमा भर्ना गरेको छ भने ९ सय ८२ दरबन्दी अझै खाली छ। प्रदेश सरकारका मन्त्रालय, मातहतका निकाय र स्थानीय तहमा पनि निकटका व्यक्तिलाई भर्ना गरिएको हुँदा आयोगमार्फत विज्ञापन खोल्न अटेरी भइरहेको आरोपी लोकसेवाकै तयारीमा रहेकी गंगोत्री जोशीको छ। ‘हामी वर्षौदेखि तयारी गरिरहेका छौँ,’ उनले थपिन्, ‘तर लोकसेवा खुल्ने कुनै सुरसार छैन। करारमा राखेका कर्मचारीका लागि लोकसेवाको विज्ञापन नगरिएको जस्तो लाग्न थालेको छ।’

कतिपय युवामा लोकसेवा नखुल्दा सरकारी जागिर खाने सपना चकनाचुर हुने चिन्ता देखिएको छ। आयोगमार्फत विज्ञापन खोल्ने तयारी नहुँदा उमेर ढल्किने चिन्ता उनीहरुमा छ। लोकसेवाकै तयारी गरिरहेको भएपनि विज्ञापन नखुल्दा सरकारी सेवामा प्रवेश पाउनेमा आशंका बढेको लोकसेवाको तयारीमा रहेका बसन्त जोशीको गुनासो छ। ‘मलाई भने कर्मचारीको कारण लोकसेवा नखुलेको हो की भन्ने लागेको छ,’ उनले भने, ‘लोकसेवा दिन नपाउँदै उमेर कट्ला भन्ने चिन्ता लाग्न थालेको छ।’

भनसुन र राजनीतिक पहुँचका आधारमा करारमा जागिर पाएका व्यक्तिको लागि प्रदेश सरकारले लोकसेवा खोल्न नचाहेको आरोप पुष्पा बिष्टको छ। ‘प्रदेश तथा स्थानीय तहमा सयौंको संख्यामा आफ्ना मान्छेलाई जागिर लागाइएको छ,’ उनले भने, ‘आफ्ना मान्छेको जागिर बचाउन लोकसेवा नखोल्ने चलखेल भएको छ।’

प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्न स्थानीय तह र प्रदेश सरकारलाई दरबन्दी विवरण मागेको थियो। ढिलो गरी दरवन्दी विवरण बुझाएका दुबै तहका सरकारले आयोगमार्फत विज्ञापन खोल्न भने इच्छा देखाएका छैनन।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस