कैलालीकी धर्माको वेदना, ‘कलिलैमा सिन्दुर पुछियो, हत्यारालाई फाँसी दिनुपर्छ’
युवकको विभत्स हत्या
धनगढी: ‘अमरावतीमा सोच्दै न सोचेको घटना घट्यो। यस्तो हुन्छ भन्ने थाहा भएको भए श्रीमानलाई घरबाट पठाउने थिएन। सानो छोरी छ,’ भक्कानिँदै मृतक अर्जुन दासकी पत्नी धर्मा दासले भनिन्। शनिबार साँझ उनी घर बाहिर छोरीलाई दुध खुवाउँदै पल्टिरहेकी थिइन्। वरपर रहेका आफन्त र छिमेकीले उनलाई गर्दै सम्झाइ रहेका थिए। उनीहरु आफ्नो र छोरीको ख्याल राख्न भनिरहेका थिए। धर्माको अवस्था अचेत जस्तै थियो।
उनीलाई अझै पनि त्यो घटना सपना जस्तै लागिरहेको छ। ‘कतिबेला त धेरैले झुटो बोलिरहेका छन् जस्तो लाग्दैछ। भारत जानुभएको छ, फर्किहाल्नुहुन्छ जस्तो लाग्दैछ। किन बोल्दैछन् मान्छे जस्तो पनि लाग्दैछ। तर वास्तविकता त्यो होइन’ आँखाभरी आसु निकालेकी उनले रुदै भनिन्।
अर्जुन दास बढीजसो भारतमै बस्ने गरेका थिए। दास नसालु पदार्थ सेवन समेत नगर्ने धर्मा बताउँछिन्। ‘लागुऔषध कहिल्यै सेवन गरेनन्। खाए थोरै रक्सी खानुहुन्थ्यो। रक्सी पनि म आफैँले ल्याइदिएर मात्रै खानुहुन्थ्यो,’ उनले भनिन्। धर्मा जस्तै बेहाल भएको छ अर्जुनकी आमा पवनको पनि। पवन दासको आँखा पनि सुन्निएर राता–राता भएका थिए।
भारतमै बस्ने भएकाले हत्या भएको झुटो हो र भोलि आइहाल्ने जस्तो लागिरहेको पवन दास बताउँछिन्। पाठेघरको समस्या भएकी उनी भारतमै उपचाररत थिइन्। पवन भन्छिन्, ‘आमा छिट्टै आउँछु ख्याल राख्नु भनेर हौसला दिइरहन्थ्यो। पापीहरुले मारिदियो। यसो हुन्छ भनेर थाहा भएको पाए घर पनि पठाउँथिन्।’ काम विशेषले केहीदिन अघिमात्रै अर्जुन घर फर्केको आमाले बताइन्।
अनि कहिलै फर्केनन् अर्जुन
घटना भएको एकदिन अघि(पुस २ गते) मृतक दास गाउँकै कमल सावदसँग गएका थिए। दास सावदसँगै काम गर्ने गरेको श्रीमती बताउँछिन्। गाउँका केही युवकहरु दास घर आएको बेला आउनेबस्ने र जाने गर्ने गरेका थिए। उक्त दिन पनि साथीहरुसँग जान्छु भन्दै दास घरबाट गएका थिए। साँझको समयमा ४/५ जना केटाहरु दासले पठाएको भन्दै घरमा मोबाइल लिन आएको धर्माले बताइन्। ‘कमल र श्रीमानले ४ वटा मोबाइल छ ल्याउनु भनेर पठाएका हुन् भाउजु भन्दै आए। तर मोबाइल थिएन’ उनले भनिन्।
श्रीमान खोई भन्दा उनीहरुले आफूहरु एउटै समूहमा बसिरहेको बताएको उनी बताउँछिन्। ‘म पनि जान्छु भन्दा हुँदैन। हामी एउटै ग्याङमा बसेका छौँ। १०/१५ मिनेट मै पुगाइदिन्छौँ भनेर गए। खोज्न आएको सामान भेटाएनन्। अब आउनुहुन्छ भनेर रातभर कुरीरहे तर आएनन्’ उनले भनिन्, ‘घर नआएपछि आफन्तको घरमा गयौँ कहिकतै नभेटेपछि कमल सावदको घर गयौँं, त्या जाँदा मोबाइलमा रेकर्ड आयो।’
१० दिनपछि आफन्तले बुझे शव
हत्यारालाई पक्राउ नगर्दासम्म शव नबुझने परिवारले अडान राखेका थिए। तर सोमबार परिवारले हत्या भएको १० दिनपछि शव बुझेका छन्। आफूहरुले राखेका माग सम्बोधन गर्ने सहमतीपछि शव बुझेको मृतक दासका दाई प्रकाश दासले बताए। उनले भने, ‘हत्यारालाई छिटो पक्राउ गरेर कारबाही गर्न माग गरेका छौँ। अहिले हामीले शव बुझेर दाहसंस्कारका लागि लगिरहेका छौँ।’ जतिसक्दो चाँडो हत्याराहरुलाई पक्राउ गर्न उनीहरुको माग छ। श्रीमती धर्मा भन्छिन्, ‘यो कलिलै उमेरमा मेरो सिन्दुर मेटाएको छ। प्रहरीलाई हामीले ती मान्छेको नाम ठेगाना सबै बताइसकेका छौँ। तर अहिलेसम्म पक्राउ गर्न सकेको छैन। जसरी मेरो श्रीमानको हत्या गरिएको छ, त्यस्तै घाँटी काट्न त मिल्दैन तर उनीहरुलाई फाँसीको सजाय हुनुपर्छ।
घटनापछि गाउँभरी त्रास
उक्त घटनाले गाउँभरी त्रास फैलिएको छ। गाउँमा नयाँ मान्छै हिँड्दै आएको देख्दा गजेडी हुन कि जस्तो गाउँलेलाई लाग्छ। घटनापछि गाउँ नै सुनसान बनेको छ। साँझ गाउँमा हिँडडुल गर्न बन्द भएको स्थानीय बताउँछन्। ६ बजेसम्म गाउँले सबैले घरको झ्याल ढोका बन्द गर्ने गरेका छन्। दिउँसो पनि एक्लै गाउँमा हिँड्न डर भएको नामसरा न्यौपाने बताउँछिन्।
विद्यार्थीलाई झन् समस्या
त्यहाँका अधिकांश विद्यार्थी लम्कीबजार पढ्न आउँछन्। लम्की पुग्न अमरावती जंगलको बाटो नै प्रयोग गर्नुपर्छ। त्यहाँबाट विद्यालय पुग्न हिँडेर एक घण्टा बढी लाग्ने गरेको छ। घटनापछि बालबालिकाहरुलाई विद्यालय पठाउन पनि डर लागिरहेको नामसरा न्योपानेले बताइन्। ‘घना जंगल छ। केटाकेटी स्कुलदेखि घर पुगुन्जेलसम्म कलेजो ठेगानामा हुँदैन। केटाकेटी कतै खेल्न गएपनि त्यही घटना झट्ट याद आउँछ’ उनले भनिन्।
पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलिपल्ट ३ गते स्थानीय अमरावती सामुदायिक वनमा फेला परेका थिए। सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ। उनीहरुको खोजी र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।