अछामका विद्यार्थीको पीडाः विद्यालयमा ६ शौचालय छन्, पानी छैन, झाडीतिर शौच
अछामः अछामको मंगलसैन नगरपालिका-९ स्थित मंगला नेरा मावि ओलिगाउँमा अध्ययनरत विद्यार्थीले विद्यालयमा खानेपानीको अभाव देखिएको छ। खानेपानीकै कारण शौचालय प्रयोगमा समस्या भोग्नु परेको उनीहरुले बताएका छन्। नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका हुन्।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बने पनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताएका हुन्। ‘विद्यालयमा चारवटा धारा र ६ वटा शौचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सृजना रावलले भनिन्।
महिनावारी भएका बेला मात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारी बताउँछिन्। ‘विद्यालयमा शौच गर्ने शौचालय छैन, विद्यालय पछाडिपट्टिको झाडीमा जानुपर्छ, खुल्ला शौच गर्दा धेरै गाह्रो हुन्छ,’ उनले भनिन्। शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको झरना परियारले बताइन्। ‘महिनावारी भएको बेलाबेलामा प्याड चेञ्ज गर्नुपर्छ, कतिपटक झाडीमा गएर प्याड चेञ्ज गरेका छौं, जंगल वरपरतिर गाईवस्तु चराउने मान्छे हुन्छन्, धेरै समस्या छ,’ उनले भनिन्।
विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको बताए।