धनगढीमा ५ करोडमा बनाइएको ज्येष्ठ नागरिक भवन उपयोगविहीन, खण्डहर बन्ने चिन्ता
धनगढी : धनगढीमा ५ करोड ६२ लाख ८८ हजारको लागतमा ज्येष्ठ नागरिक भवनको निर्माण सम्पन्न भएको दुई वर्ष पुगेको छ। दुई वर्ष अगाडि निर्माण सम्पन्न भएर ठडिएका ५ वटा भवन जुन प्रयोजनका लागि बनेका हुन्, त्यसका लागि उपयोगमा भने ल्याइएको छैन। ज्येष्ठ नागरिक भवन हस्तान्तरणसमेत गरिएको छैन।
उपमहानगरपालिकाको वडा नम्बर १४ को शिव मन्दिरको करिब दुई बिघा जग्गामा संघीय सरकारले ज्येष्ठ नागरिकहरूका लागि सुविधा सम्पन्न ५ वटा भवन बनाएको थियो। समयमै हस्तान्तरण भएर प्रयोगमा नल्याइदा निर्माण गरिएका भवन जीर्ण बन्न लागेको स्थानीय रामदत्त जोशीले बताए। ’भवन बनेको दुई वर्ष भएको छ तर कुन प्रयोजनका लागि भवन बनेका हुन स्थानीयलाई कुनै जानकारी नै छैन,’ उनले भने, ’भवन प्रयोगमा नल्याइदै जीर्ण बन्ने पो हुन की भन्ने चिन्ता लागेको छ।’
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले ठेक्का सम्झौता गरेको भए पनि निर्माणको रेखदेख तथा अनुगमनको जिम्मा भने प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयलाई दिइएको थियो। धनगढीको रूद्रावती निर्माण सेवासँग संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले २०७४ फागुन २९ गते दुई वर्षमा काम सम्पन्न हुने गरी सम्झौता गरेको थियो।
सम्झौता अनुसार २०७६ फागुन २८ गतेभित्र काम सम्पन्न हुनुपर्नेमा तोकिएको समयभन्दा तीन महिना अगाडि सबै काम सम्पन्न गरेको निर्माण व्यवसायी किशोर ठकुराठीले दाबी गरे। ’भवनको ठेक्का सम्झौताभन्दा तीन महिना अगाडि नै काम सम्पन्न गरिएको हो,’ उनले भने, ’मर्मत गर्नुपर्ने समय पनि सक्किएको छ। अझै पनि मर्मत गर्नुपर्ने भए त्यो पनि गर्न तयार छौँ।’
तर सहरी विकास तथा भवन कार्यालका प्रमुख इन्जिनियर गोबिन्द देवकोटाले भने माटो भरानको काम बाँकी रहेको तथा थोरै मर्मत गर्नुपर्ने काम सम्पन्न गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने बताए। ’भवन निर्माणको कार्य सकिए पनि हस्तान्तरणको काम भने भएको छैन,’ उनले भने, ’केही मर्मत गर्नुपर्ने छ। त्यो भएपछि उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरिने छ।’
फूलबारीमा ज्येष्ठ नागरिकहरूका लागि सुबिधा सम्पन्न भवन बनेका छन्। जेष्ठ नागरिकका लागि पुस्तकालय, व्यायामशाला, स्नान कक्षहररू, बैठक कक्षहरू, सोलार गिजर, अपांग मैत्री संरचना निर्माण गरिएका छन्। निर्माण गरिएका भवन प्रयोगमा नल्याउदा झ्याल ढोका मक्किनुका साथै मुसा तथा अन्य कारणले भवनमा क्षति पुग्न थालेको स्थानीयले बताएका छन्।
संघीय सरकारले निर्माण गरेर स्थानीय तहलाई सञ्चालन गर्न दिने गरी जेष्ठ नागरिक भवन बने पनि संरचना प्रयोगमा नल्याइदा नयाँ भवन हस्तान्तरण नहुँदै खण्डहर बन्ने चिन्ता गरिएको छ। भौतिक निर्माणको कार्य सम्पन्न भए पनि खाली जग्गामा माटो भरानको काम नहुँदा भवन वरपर झाडी उम्रिन लागेको छ। भवनका पेटी तथा भ¥याङ धस्सिन लागेको देखिन्छ।