सुदूर नेपाललाई विश्वसँग जोड्दै

दर्ता भएकै पालिकामा अटो रिक्सा चलाउन जोड, नयाँ दर्ता रोक्ने तयारीमा प्रदेश सरकार

२०७८ पुष ७, ०७:१८ नारायण अवस्थी

धनगढी : धनगढी उपमहानगरपालिकामा आवश्यकताभन्दा बढी अटो रिक्सा चल्न थालेपछि सवारी जाम हुने गरेको छ। दुर्घटना पनि बढेका छन् भने आवतजावतमा सास्ती छ। जुन पालिकामा दर्ता भयो सोही पालिकामा मात्र सञ्चालन हुने सहमति कार्यान्वयन नहुँदा सवारी जाम र दुर्घटना बढेको हो। उपमहानगरपालिका र यातायात कार्यालयको कारण अटो रिक्साको संख्या आवश्यकभन्दा बढी भएको रिक्सा चालक राजु चौधरीको दाबी छ। ‘अटो रिक्साको व्यवस्थापनका लागि दर्ता भएकै पालिकामा अटो चलाउनु पर्ने हो,’ उनले भने, ‘आवश्यकताभन्दा बढी अटो रिक्सा भएकाले तत्काल नयाँ दर्ताको प्रक्रिया पनि बन्द गर्नु पर्‍यो।’ 

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा एक हजार २९० अटो मात्रै सञ्चालन गर्ने निर्णय गरेको दाबी अटो चालकहरुले गर्दै आएका छन्। उपमहानगरपालिकाले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमा जुन पालिकामा अटो दर्ता भयो सोही पालिकामा मात्र अटो सञ्चालन हुने सहमति भएको जनाएको छ। धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने, ‘हामीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा जुन पालिकामा अटो दर्ता भयो, त्यहीँ मात्रै चलाउने सहमति गरेका थियौँ। तर प्रदेश सरकारले त्यो कार्यान्वयन किन गरेन थाहा भएन।’

धनगढीमा रिक्साको संख्या बढेको भन्दै नयाँ दर्ता नगर्न भनेर पनि यातायात कार्यालय र मन्त्रालयमा धेरै पटक पत्राचार गरेको उनले बताए। तर प्रदेश सरकारको निर्णयअनुसार मात्रै नयाँ अटो रिक्साको दर्ता रोक्न सकिने यातायात कार्यालयले बताएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने यातायात कार्यालय कैलालीलाई थप रिक्सा दर्ता नगर्न निर्देशनसहित औपाचारिक पत्र पठाउने जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात महाशाखा प्रमुख मोहनचन्द्र जोशीले मन्त्रालयले थप रिक्सा दर्ता नगर्ने भन्ने पत्र पठाउने जनाए।

‘धनगढी उपमहानगरपालिकाले थप रिक्सा दर्ता नगर्न यातायात कार्यालय र मन्त्रालयलाई पत्राचार गरेको छ,’ उनले भने, ‘मन्त्रालयले यातायात कार्यालयहरुलाई नयाँ दर्ता रोक्न पत्र पठाउने तयारी गरेको छ।’ धमाधम रिक्सा दर्ता गरेर जोरबिजोर प्रणाली मात्रै लागू गर्दा रिक्सा चालकमा असन्तुष्टि बढेको छ। उनीहरुले दर्ता भएकै पालिकामा चलाउने निर्णय कार्यान्वयन गर्न र तत्काल दर्ता बन्द गर्न आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस