सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम : जहाँ नेता मात्रै जन्मिन्छन्

२०७८ मंसिर १८, १२:५९ खबर संवाददाता

वीरेन्द्र भट्ट: सुदूरपश्चिम नेता उत्पादनको हिसाबले अग्र स्थानमा रहेको विषय सुन्दा अचम्म लाग्न सक्छ। प्रत्येक घरबाट एक जना नेता उत्पादन भइरहेको विषय सुन्दा झन चकित पर्नु होला। तर सत्य कुरा यही हो। नेता भएका र नेता हुने लाइनमा बसेकाहरु यतै छन्। जसलाई नेता बन्नु छैन ती मध्ये केही लाख भारतका विभिन्न सहर पसेका छन् भने केही लाख तेस्रो मुलुक पसेका छन्। र, यहाँ रहेका बाँकी सबै नेता। अचम्मको विषय त के छ भने कार्यकर्ता भन्दा नेताको संख्या अझ उच्च छ।

हिजो केन्द्रीकृत एकात्मक व्यवस्थाअनुसार अब सुदूरपश्चिम रहेन। किनकी मुलुक संघीयता कार्यान्वयनसँगै संघीय नेता, प्रदेशका नेता, स्थानीय नेता मात्र होइन अब वडा नेता पनि उत्पादन भइसकेका छन्। यतिबेला सबैजसो पार्टीको अधिवेशन चलिरहेको छ। नेताबाट नेता नै उत्पादन गर्ने खेल कम रोचकको छैन।

घर-घरमा नेता, चोकचोकमा नेता, यस्तो लाग्छ नेता उत्पादनको हिसाबले सुदूरपश्चिम नै अग्रस्थानमा छ भन्ने विषयमा सायद विमती नहोला। यहाँ बेरोजगार जति सबै नेता। सुदूरपश्चिम कार्यकर्ता भन्दा नेताहरु मात्र जन्माउने प्रदेशको रुपमा स्थापित हुँदैछ। नेता मात्र उत्पादन हुने प्रदेशमा उद्योग खोल्नु त्यति मनासिब देखिदैन। नेता उद्यमी हुन भने कार्यकर्ता तिनका दक्ष जनशक्ति।

२०६८ को जनसंख्यालाई मात्र आधार मान्ने हो भने सुदूरपश्चिम प्रदेशको कूल जनसंख्या २६ लाखको हाराहारी हो। यसमध्ये ६ लाख भारतका विभिन्न शहरमा रोजगारीका लागि पलायन छन् भने ३ लाखको हाराहारीमा तेस्रो मुलुक। ६ लाखको हाराहारीमा बालबालिका र बाँकी युवादेखि वृद्धवृद्धासम्म केही समयको कार्यकर्ता जीवन सफलपूर्वक पार गरेर नेताको तास पहिरिसकेका युवा नेता नै हुन्। नेता बन्नुमै पैसा छ अनि नेता हुनुमै गर्भ छ। त्यति मात्र होइन नेता भए सबै गल्ती, कमजोरी र ठूल्ठूला अपराधबाट पनि सहजै पार पाउन सकिने भएपछि किन सबै नेता नबन्ने वा नेता बन्ने लाइनमा नलाग्ने ?

नेताहरुले नै तारे होटेलदेखि चटपटे व्यापारीको जीवन उकासिदिएका छन्। नेता भए कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पो किन चाहियो र ती अंगहरुले गर्ने सम्पूर्ण काम त सफलतापूर्वक यीनै नेताहरुले गरिनै दिएका छन्। संघ, प्रदेश र स्थानीय तहको बजेट पनि त यीनै नेताहरुले चलाइदिने भएपछि यत्तिका कर्मचारी किन राख्नुपर्‍यो ? बजेट चलाउनेदेखि आफूनिकट र आफ्ना कार्यकर्ताको घर बनाइदिने जिम्मा समेत यीनै नेताले लिइदिएपछि अब किन विदेश जानुपर्‍यो ? किन उद्योग कलकारखानामा काम गर्नुपर्‍यो ? त्यति मात्र होइन उद्योग नै पो किन खोल्नुपर्‍यो ? सजिलो पेसा छोडेर कसैले किन बेकारमा कष्ट उठाउने वा संघर्ष भन्ने शब्दलाई भजाइराख्ने ? त्यसकारण कार्यकर्ता होइन सिधै नेता बन्नमै केन्द्रीत हुन किन कम्मर नकस्ने ?

नेता बन्नुका कति धेरै फाइदा छन्। यो घाटाको व्यापार त हुँदै होइन। अहिलेसम्म नेता बनेपछि घाटाको व्यापार भएको कहीँ सुन्नु भएको छ ? त्यसकारण नेता बन्ने सोच नभएकाहरुले पनि आजैबाट नेताकै लाइनमा जोडिन सुरु गरिहाल्नु हितकर हुन्छ। अब नेताबिनाको टोल, चोक र घरको परिकल्पना गर्न सकिँदैन। सुदूरपश्चिमबाटै २/२ जना प्रधानमन्त्री भइसकेका छन्, ती को हुन् भनेर भनिराख्नु नपर्ला। संघीय र प्रदेश सांसद त कति कति। अझ मन्त्री बन्नेको सूची अझ लामो छ। नेता बन्न केही गर्नु पर्दैन। २/४ दिन भएपनि जेल, २/४ जनासम्म भएपनि सकिन्छ भने हत्या नभए कुटपिट, २/४ ठाउँमा भएपनि चोरी डकैती गरे मात्र पनि नेताको लाइसेन्समा पास भइहालिन्छ। आजभोलि त झन सामाजिक अभियान चलाएर पनि नेता भइन्छ। नेतालाई गाली गरेर पनि नेता भइन्छ। एक नेताको बेस्सरी खोइरो खन्ने अनि नयाँ नेताको टाइटल भिर्ने। क्या सजिलो है। 

अनि नेता बन्न शिक्षादिक्षा केही नभएपनि हुन्छ। यदि भुल गरेर पढ्नु नै भएको छ भने पनि थोरै मात्र घाटा हुने हो। तर तपाई नेता त्यसमा पनि युवा नेता चितामा नपुगुन्जेलसम्मका लागि चाँहि पक्का हो। 
 

कमेन्ट लोड गर्नुस