सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मिलनचोकमा सञ्चालित हाटबजारको अवस्था बिजोक

२०७८ मंसिर १६, १२:२३ विन्दु चन्द

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मिलनचोकमा विगत ८ वर्षदेखि दैनिक कृषि उपज हाटबजार सञ्चालनमा छ। खाद्य व्यापार कम्पनी मातहतमा रहेको नेश्नल ट्रेडिङको जग्गामा मासिक ५० हजार भाडा तिर्दै कृषि हाटबजार सञ्चालन भइरहेको हो। 

तर सो बजार डुबान क्षेत्रमा हुँदा त्यहाँका व्यापारीहरुलाई समस्या हुने गरेको छ। सडकमा ठेलाको व्यापार गर्दै आएका साना व्यापारीहरुलाई उपमहानगरपालिकाले उक्त ठाउँमा व्यवस्थापन गरेको थियो। तर सो ठाउँ व्यवस्थित नहुँदा समस्या भइरहेको ठेला व्यापारी राजु शाहले बताए। उनले भने, ‘सडकमा व्यापार गर्दा धेरै समस्या थियो, तर यहाँ आएपछि अलि सहज भयो। सडकमा कहिले प्रहरीले हटाउने, कहिले उपमहानगरपालिकाले। तर यहाँ व्यवस्थापन नहुँदा सारै समस्या भइरहेको छ।’ व्यवस्थापन नगर्ने तर महिनावारी भाडा उठानाले समस्या भइरहेको समेत उनको गुनासो छ।

हाटबजार क्षेत्र साँघुरो भएको र त्यहाँ पानी भरिने भएकाले सडक क्षेत्रमा व्यापार गर्नुपर्ने बाध्यता रहेको ठेला व्यापारीहरु बताउँछन्। डुबानको समयमा मोहनापुल–अत्तरिया ६ लेन सडकमै हाट बजार सञ्चालन हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको छ। सडकमै व्यापार गरिँदा एकातिर सडक जाम हुने अर्कोतिर दुर्घटनाको डर हुने गर्छ।  तर आफ्ना नगरका व्यापारीहरुलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले वेवास्ता गरेको गुनासो गरिएको छ।

उक्त स्थानका खाद्य व्यवस्था व्यापार कम्पनीले देउवा तरकारी पसलसँग करसहित मासिक ५० हजार रकम तिर्नुपर्ने गरि सम्झौता गरेको छ। तर ठाउँ अव्यवस्थित भएकै कारण सो बमोजिमको रकम तिर्नै मुस्किल भइरहेको दैनिक कृषि हाटबजार समितिका अध्यक्ष पदमबहादुर देउवाले बताए। उनले भने, ‘दुई वर्ष हामीले ठूलो घाटा व्यहोर्नु परेको छ। कोरोना महामारीका कारण भएको लकडाउन र डुबानका कारण ठूलो घाटा लागेको छ।’

घाटा व्यहोर्दा पनि खाद्य व्यवस्था व्यापार कम्पनीले पेलेर भाडा असुलीरहेको आरोप उनको छ। देउवाले भने, ‘सरकारले नै लकडाउनको भाडा मिनाहा गर्ने भनेको थियो तर खाद्यले हामीलाई पेलिरहेको छ। निवेदन गर्दा पनि वास्ता गरिएन। समयमै भाडा नदिए सम्झौता रद्द गरिदिने भनिरहेको छ।’ उनले उपमहानगरपालिकाले नै जिम्मा लिएर उक्त हाटबजार सञ्चालन गरिदिनुपर्ने समेत बताए। 

८ वर्षदेखि नेश्नल ट्रेडिङको नाममा रहेको ६ कठ्ठा जग्गामा हाटबजार सञ्चालनमा छ। उक्त कृषि हाटबजारमा अहिले ३२ जना मात्रै साना कृषि व्यापारी छन्। लकडाउन र डुबानका कारणले धेरै व्यापारी पलायन भएको समितिले जनाएको छ। तर व्यवस्थित गरेर सञ्चालन गर्नसके सय बढी साना व्यापारीहरु अट्नसक्ने र सडकमा भिँडभाड तथा दुर्घटनाको जोखिम पनि कम हुने समिति बताउँछ।

तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका जिन्सी सहायक जगतबहादुर कुँवरले भने समितिले रकम मिनाहा गर्न दिएको निवेदन केन्द्रमा पठाइएको बताए। ‘उताबाट निर्देशन आएको छैन्। आएपछि छुट पाउनुहुन्छ’  उनले भने। 

यता उक्त हाटबजार उपमहानगरपालिकाले नै सञ्चालन गर्ने भन्नेबारे अहिले भन्न नसकिने धनगढी उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले बताए। उनले भने, ‘त्यो नेश्नल ट्रेडिङको जग्गामा व्यक्तिको नाममा हाटबजार सञ्चालनमा छ। बर्खामाको समयमा अत्यधिक पानी आउँछ। त्यो बेला पुरै धनगढी नै डुबेको हुन्छ, त्यो समस्या समाधान गर्न गाह्रो छ।’  


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस