सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रदेश सभापतिमा आधा दर्जन बढी नेताको दाबेदारी

२०७८ मंसिर ११, ०६:४० कमल सावद

धनगढीः ९ जिल्ला रहेको सुदूरपश्चिमका ६ जिल्लामा नेतृत्व चयन भएसँगै सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको प्रदेश अधिवेशनबारे सरगर्मी बढेको छ। नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत भएकाले सुदूरपश्चिममा नेतृत्व लिनेबारे चर्को बहस सुरु भएको हाे। 

प्रदेशमा नेपाली काँग्रेसबाट पूर्व संघीय राज्यमन्त्री, सुदूरपश्चिम प्रदेश सभा सदस्य, जिल्ला सभापतिहरु, युवा तथा विद्यार्थी नेताहरुले पनि इच्छा देखाएका छन्। सभापतिमा उम्मेदवारी घोषणा गरेका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाहीले भने, ‘२७/२८ वर्षदेखि मेरो विद्यार्थी र पार्टीको राजनीति तथा पार्टीमा मेरो लगानीका कारण म विजयी हुन्छु। पार्टीका नेताहरुको पनि आर्शिवाद छ।’

पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका काँग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्द बोहरा, कैलाली जिल्ला सभापति नरनारायण शाह (मनु), नेपाल विद्यार्थी संघका पूर्व केन्दीय उपसभापति पुष्प शाही र कैलाली क्षेत्र नम्बर २ को २ बाट हिमबहादुर रावल पनि प्रदेश सभापतिमा आकांक्षी रहेका छन्।

नेता सिँहले प्रदेश सभापतिका लागि कुनै पनि गुटबाट आधिकारिक निर्णय नभएको बताए। उनले भने, ‘पार्टीको काम गरेको मान्छे हो। काँग्रेसलाई एकजुट बनाएर लैजान सक्छु। आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउनसक्ने क्षमता भएकाले मेरो प्रदेश सभापतिमा उम्मेदवारी छ।’ 

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा डोटी काँग्रेसका नेता भरतबहादुर खड्काको नाम पनि चर्चामा रहेको छ। तर उनले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी नहुने बताएका छन्। खड्काले दिनेशखबरसँग भने, ‘प्रदेश सभापतिमा मेरो नाम आएको होला। तर मैले स्वीकार गरेको छैन। नेताहरुलाई पहिलै भनेको हो, म प्रदेश सभापतिमा म लड्डैन।’ उनले संघीय निर्वाचनमा उठ्ने बताएका छन्। सभापतिमा प्रदेश सभा सदस्य गोविन्द बोहराले इच्छा प्रकट गरेका छन्। ‘निर्णय भएको छैन तर आकांक्षा हो। भोलि धनगढी आएर छलफल गर्छु’ उनले भने।

सभापतिमा दाबेदारी पेश गरेका नेताहरु अहिले प्रदेशका विभिन्न जिल्लामा भेटघाटमा व्यस्त देखिएका छन्। प्रदेश सभापतिमा आधा दर्जन नेताहरुले आकांक्षा देखाएका बेला संस्थापन र इतर पक्षले आधिकारिक उम्मेदवारी घोषणा नगरेको भन्दै नेताहरु अन्योलमा देखिएका छन्। मंसिर १६ र १७ गते धनगढीमा प्रदेश अधिवेशन हुनेछ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस