सुदूरपश्चिमबाट भारत जाने नेपालीमाथि ट्राभल्स एजेन्सीको ठगी झनै बढ्यो
धनगढी : धनगढीको सेती टुर एण्ड ट्राभल्स कम्पनीले शुक्रबार झण्डै ८० यात्रुका लागि टिकट काट्यो। भारतको ब्याङ्लोर जाने यात्रुबाट ट्राभल्स कम्पनीले प्रति व्यक्ति भारतीय चार हजार भाडा लियो। तर उनीहरुलाई बिच बाटोमा अलपत्र छोडिएको छ। पलियादेखि ६० किलोमिटरको दुरीमा रहेको जंगलमा उनीहरुलाई अलपत्र छाडिएको हो।
एक यात्रुले दिनेशखबरसँग भने, ‘हामीलाई जंगलमा छोडिएको छ। ब्याङ्लोर जाँदैन भन्दैछ। बाटोमा रोकेको छ।’ धनगढीबाट सञ्चालनमा रहेका ट्राभल्स कम्पनीहरुले ठगी गरेको गुनासो पटकपटक आउन गरेको छ। कति पटक त जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत गरिएका छन्। तर उनीहरुलाई कारबाही भएको छैन। कारबाही समेत नहुने भएपछि यातायात कम्पनीहरुको मनोमानी बढ्दै गएको छ।
यता सेती टुर एण्ड ट्राभल कम्पनीका सञ्चालक कुवेर महराले केही समय मात्र बस बाटोमा रोकिएको बताए। उनले यात्रु गन्तव्यमा पठाएको दाबी गरे। ‘कोही बद्नाम गर्नका लागि लागेका छन्। उनीहरुका कारण यस्तो भएको हो। अहिले मैले पठाएका यात्रु सबै गएका छन्,’ उनले भने।
धनगढीबाट सञ्चालन हुँदै आएका ट्राभल्स कम्पनीहरुसँग सवारी साधन पनि छैनन्। सवारी नभएका प्रालिहरुले अवैध रुपमा टिकट काट्दै आएको भए पनि स्थानीय प्रशासनले बेवास्ता गरेको छ। स्थानीय प्रशासनले उल्टै ट्राफिक प्रहरीले व्यवस्थापन गर्नुपर्ने दाबी गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदेश ट्राफिकको जिम्मेवारी भएको बताए। तर सडकको सुरक्षाको जिम्मेवारी ट्राफिकको भए पनि ट्राभल्स कम्पनी नियमनको जिम्मेवारी स्थानीय प्रशासनको भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।