धनगढीका पदमराज, जसले १७ हजार लगानी गरेर १७ करोड कमाए
वीरेन्द्र भट्ट, धनगढीः नेपालका प्रमुख पुराना सहरमध्येको एक हो, धनगढी। धनगढीलाई पुराना व्यवसायीहरुले ‘धनको गढी’ पनि भन्ने गरेका छन्। धनगढीलाई कर्मथलो बनाएर धेरैले व्यावसायिक रुपमा सफलता प्राप्त गरेका छन्। तुलनात्मक रुपमा सबैभन्दा बढी व्यावसायिक प्रतिष्ठान, बसोबास र जनसंख्या भएको सहर पनि धनगढी नै हो। हजार लगानी गरेर करोडौँ आम्दानी गर्ने व्यवसायीहरुको सूची २०७८ सालसम्म आइपुग्दा निकै लामो देखिन्छ।
यही सूचीमा पर्छन् पदमराज भट्ट। उनी छोटो समयमा थोरै लगानी गरेर नामसँगै दाम कमाउन सफल व्यवसायी हुन्। डडेल्धुराबाट २०४० सालमा तराई झरेका भट्टले २०४१ सालमा व्यवसायमा प्रवेश गरेका थिए। चियापत्ती, साबुन, पाउडर दुध, बिँडी लगायतका सामान्य किराना व्यवसायीको रुपमा प्रवेश गरेका भट्ट छोटो समयमै राम्रो मुनाफा आर्जन गर्न सफल भएको उनी बताउँछन्।
धनगढीको एलएनचोकमा रहेको पदम सोप भनेपछि धेरैले चिन्ने नाम भनेकै पदमराज भट्ट हो। उनले व्यवसाय सुरु गर्दा नेपालमा थोरै मात्र कम्पनी थिए। थोरै कम्पनीले थोरै मात्र उत्पादन गर्ने सामग्री धनगढीमा भने उनै पदमराज भट्टले बिक्री गर्दै आए। त्यो बेला सुदूरपश्चिममा शिव नामको बिँडी निकै बढी बिक्री हुन्थ्यो। पहाडमा त झन बढी माग थियो। त्यति मात्र होइन महाशक्ति नामक साबुनको बिक्री पनि कम्तीको थिएन। काठमाडौँ लगायतका क्षेत्रमा उत्पादित सामग्री धनगढीमा आधिकारीक डिलरको रुपमा उनै भट्टले बिक्री गर्दै आए।
सामान्य किराना व्यवसाय गरेर आयआर्जन गर्दै आएका भट्टका लागि २०४७ देखि २०५९ सालसम्म चौधरी ग्रुप अन्तरगत सीजी वाइवाई चाउचाउ त बरदान नै सावित भयो। भट्टका दाजु माधवप्रसाद भट्टको नाममा रहेको ड्राई फुड डिष्टीव्यूटर ५०/६० जनाको शेयर रहने गरी नयाँ व्यवसायको रुपमा सुरु भयो। करिब एक दशक यसको राज धनगढी लगायत एकछत्र राज चल्यो। तर रामब्रदर्श कोल्याप्स भएपछि सबैले आ–आफ्नो पूँजी फिर्ता लिए।
२०५९ सालदेखि सीजी ग्रुपको उत्पादन वाइवाई बिक्रीको आधिकारिता भट्ट एक्लैले प्राप्त गरेपछि आम्दानीको नयाँ स्रोत अझ बढ्दै गएको भट्टको अनुभव छ। धनगढी आसपास क्षेत्रमा मात्रै महिनामा एक करोड २५ लाख बराबरको वाइवाई चाउचाउ उनीमार्फत बिक्री हुँदै आएको छ। उनको अपार सफलताको प्रेरणाको श्रोत भने सीताराम भट्ट हुन्। हतोत्साहित र इमान्दारिता नै सधैँ व्यवसायमा अडिग रहने सुत्र सिकाउने सीतारामलाई उनले आफ्नो गुरुको रुपमा सम्झने गरेका छन्।
पदमराज भट्टले व्यवसाय सुरु गर्दा १७ हजार मात्र लगानी गरेका थिए। त्यो १७ हजारको पूँजीले उनले २०७८ सम्म आइपुग्दा १७ करोड गर्न सक्षम बनेका छन्। भट्टसँग अहिले २६ जनाले काम गरिरहेका छन्। उनका तीन वटा जीप र दुई वटा ट्रक छन्। हरेक महिना १५ देखि १६ ट्रक सीजी ग्रुपको तयारी चाउचाउ भट्टमार्फत बिक्री हुँदै आएको छ। वार्षिक ४० देखि ५० करोडको कारोबार गर्ने भट्ट व्यावसायिक इमान्दारिता र निरन्तरको लगनशिलताकै कारण यो सफलता प्राप्त गर्न सक्षम भएका हुन्। व्यवसायलाई थप बिस्तार र बढवा दिन यतिबेला कुनै नौलो व्यवसायमा प्रवेश गर्ने की भन्ने सोच समेत व्यवसायी भट्टले बनाइरहेका छन्।
सफलताका लागि व्यावसायिक इमान्दारिता उनको मुल मन्त्र हो। यही मन्त्रले उनलाई सफल पनि बनाउँदै आएको छ। सीजी गु्रपप्रति देखाएको उनको इमान्दारिता कम महत्वको छैन। धनगढी लगायतका क्षेत्रमा सीजी गु्रपले उत्पादन गरेका चाउचाउ लगायत उत्पादनलाई इमान्दारितापूर्वक फराकिलो बनाउँदै लगेको विषयलाई अन्य कम्पनीहरुले समेत यस्तै पात्र र प्रवृत्तिलाई पछ्याई रहेको देखिन्छ।
(व्यवसायी भट्टसँग गरिएको कुराकानीमा आधारित।)