डडेल्धुराको अजयमेरुमा विमानस्थलः के–के काम हुँदैछ ? के–के योजना छन् ?
धनगढी: सुदूरपश्चिमका ९ जिल्ला मध्ये डडेल्धुरामा मात्रै विमानस्थल छैन। त्यहाँ पटकपटक विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन तथा छलफल हुँदै आएको छ। पटकपटक विमानस्थल निर्माणका लागि ठाउँको अवलोकन भए पनि काम भने हुन सकेको थिएन। तर यसपटक जिल्लाको अजयमेरु गाउँपालिकाको वडा नम्बर १ पुइलेकमा विमानस्थल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माणको काम सुरु भएको छ। डिपीआर निर्माणको ठेक्का पाएको आइएफआइले मंगलबारदेखि काम सुरु गरेको हो।
नेपाल नागरिक उड्यन प्राधिकरण र परामर्शदाता कम्पनी आइएफआइबीच डिपीआर निर्माणका लागि सम्झौता भएको थियो। तीन महिनामा विस्तृत योजना प्रतिवेदन निर्माणको काम पूरा भएपछि मात्र वातावरणीय प्रभाव मुल्यांकन लगायतको काम सुरु हुने बताइएका छ। आइएफआइको समूहका प्रमुख सन्तकुमार श्रेष्ठले तीन महिना भित्र प्राधिकरणलाई डिपीआरको प्रतिवेदन बुझाउने बताए। ‘तीन महिनामा डिपीआरको प्रतिवेदन बुझाउँछौ। त्यसपछि मात्रै वातावरणीय प्रभाव मुल्यांकन(इआइए)को काम सुरु हुन्छ’ उनले भने। विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाई र अन्य भौतिक संरचनालाई पनि विस्तृत योजना प्रतिवेदनमा समावेश गरिने छ। डिपीआर निर्माणमा कम्पनीले नयाँ प्रविधिको समेत प्रयोग गर्दैछ।
तर नेपाल नागरिक उड्यन प्राधिकरण र डिपीआर निर्माण गर्ने आइएफआई कम्पनीका बिचको सम्झौताको रकम भने खुलेको छैन। डिपीआरको प्राम्भिक काम सुरु भएकाले आवश्यक जमिनको टुंगो लगाउने तयारी पनि भइरहेको छ। अजयमेरु गाउँपालिकाले पुइलेकमा जमिन पर्याप्त रहेको दाबी गरेको छ। जिल्ला सदरमुकामबाट १२ किलोमिटरको दूरीमा रहेको पुइलेक क्षेत्रमा विमानस्थल निर्माणका लागि पर्याप्त जमिन रहेको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। उनले भने, ‘उहाँहरुलाई आवश्यक कति हो थाहा भएन तर जमिन पर्याप्त छ।’
डडेल्धुरामा वर्षाैदेखि विमालस्थल निर्माणका लागि माग हुँदै आएको छ। पटक–पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको गृह जिल्ला भएर पनि विमानस्थल नबनेकाले स्थानीयले बेलाबेला आवाज उठाउदै आएका थिए।