प्रेम आलेले भनेः तपाईंहरू ढुक्क हुनुहोस् ! डडेल्धुरामा एयरपोर्ट बन्छ, बन्छ
डडेल्धुराः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा विमालस्थल बन्ने दाबी गरेका छन्। बुधबार डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। आलेले अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माण गर्ने बताए। उनले मंगलबारदेखि नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रवन्धक नलबिक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए।
उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) का लागि २५ लाख बजेट विनियोजन गर्ने पनि बताए। ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिएपनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने आलेले प्रतिवद्धता व्यक्त गरे। मन्त्री आलेले थपे,‘तपाईंहरू ढुक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ, बन्छ, बन्छ।’