सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा कांग्रेसका नेता राजधानीमा अनशन बस्ने, ५०० जनाको टोली काठमाडौं जाने

२०७८ कार्तिक २३, ०५:२२ खबर संवाददाता

टेकराज अवस्थी, डडेल्धुरा: क्रियाशील सदस्यता पुनरावलोकनकाे माग राख्दै आन्दोलित नेपाली काँग्रेस डडेल्धुराको संस्थापन पक्षले स्थगित गरिएको रिले अनशनलाई निरन्तरता दिने भएको छ। सोमबार बसेको जिल्ला कार्यसमिति बैठकबाट काठमाडौं गएर न्याय माग्ने निर्णय भएको कार्यालय सचिव राम विष्टले बताए। 

जिल्ला कार्य समितिको ६३औं तथा विशेष बैठकबाट सिफारिस भएका क्रियाशील सदस्यतामा व्यापक हेरफेर गरेर एकलौटी रुपमा गरिएका वडा तथा पालिका अधिवेशनको खारेजीको माग गर्दै केन्द्रीय पार्टी कार्यालयमा अनशन बस्ने जिल्ला सभापति कर्णबहादुर मल्लले बताए। ‘अवैध प्रक्रिया अपनाई गरिएको कथित स्थानीय अधिवेशनहरु खारेजीको माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गर्नेछौ’ उनले भने, ‘निर्णय अनुसार मंसीर १ गते पार्टी कार्यालयमा धर्ना र २ गतेदेखि रिले अनशन थाल्नेछौं।’ अनशनमार्फत पीडित क्रियाशील सदश्यहरुलाई न्याय दिलाउन सफल हुनेमा विश्वस्त रहेको सभापति मल्लले बताएका छन्।

वडा अधिवेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरीमाथि ५४ दिनसम्म पनि कुनै सुनुवाई नगरिएको र उल्टै बाँकी रहेका अधिवशनहरु सम्पन्न गर्न सभापति देउवा नै उद्दत रहेकोले धर्नासहित चरणबद्ध कडा आन्दोलनका कार्यक्रम तय गरिने समेत बैठकले निर्णय गरेको छ। 

आन्दोलनमा जिल्ला कार्य समितिका पदाधिकारी, सदश्यहरु, आमन्त्रित सदश्यहरु, ५२ वडा सभापति, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत ईच्छुक नेपाली काँग्रेस क्रियाशील सदस्यहरुको सहभागिता रहने बताइएको छ। जिल्लाबाट कात्तिक ३० गते करिब ५०० जनाको टोली काठमाडौं हिड्ने पार्टी कार्यालयले जनाएको छ। 

जिल्लाले पठाएका क्रियाशीलल सदश्यहरुमध्ये ४६० बिनाकारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षिय रुपमा नयाँ थप गरिएको मल्ल पक्षको दाबी छ। भदौ २५ गते गरिएको एकलौटी वडा अधिवेशनप्रति असहमती राख्दै प्रक्रियाको प्रमाणसहित ९२ पानाको अवधानिक अधिवेशनका कागजातहरु जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भादौ ३१ नै बुझाई सकिएको सभापति मल्लले बताए। 
 

कमेन्ट लोड गर्नुस