एक दिन पूजिने गाई वर्षभरी कैलाली–कञ्चनपुरका सडकमा
धनगढी: यमपञ्चकको चौथो दिन शुक्रबार सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित देशभर धुमधामका साथ मिठा–मिठा परिकार दिँदै गाईगोरुको पूजाआजा गरिएको छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले गाईलाई गौमाताका रुपमा पूजिँदै आएको छ। तर पछिल्लो समय गाईलाई दुध दिने बेलासम्म पाल्ने, त्यसपछि छोडिदिने प्रवृत्ति बढ्दै गएको छ।
छाडा रुपमा छोडिएका गाईहरुकै कारण कैलाली–कञ्चनपुरका राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दो छ। शुक्रबार पनि पूजा चलिरहेका बेला छाडा छोडिएका गाई भने सडकमै बेवारिस अवस्था रहेको देख्न सकिन्थ्यो। देखावटी रुपमा गौ पूजा गरिने भएपनि संरक्षणमा कसैले चासो नलिएको भन्दै चिन्ता व्यक्त गरिएको हो।
दुध दिँदासम्म गाई पाल्ने र त्यसपछि छोडिदिने गर्दा दुर्घटना हुने गरेको धनगढीका स्थानीय सन्जित चौधरीले बताए। उनले भने, ‘जसका घरमा गाईहरु हुन्थे, उनले पाल्न सकेनन्। दुध दिँदासम्म पाले। बुढो भयो छाडिदिए। फेिर ती गाईहरु त मान्छे वा बस्तीकै नजिक आउने हुन्। त्यसैले सडकभरी देखिन्छन्।’ गाई सडकमा हिँड्दा सवारी चालकले ठक्क दिएर मारिदिने गरेको उनले गुनासो गरे।
अटो चालक समेत रहेका उनले भने, ‘मेरै आँखाले ठूला गाडीहरुले गाई मारेको देखेको छुँ। के गर्नु। चालकले छाडा गाई भनेर उनी माथि गाडी चलाई दिन्छन्। यो लक्ष्मी हो दुध दिन्छ। यसको गहुँत कति महत्वपूर्ण छ भन्ने बुझद्दैनन्।’
उनले मान्छेका लागि जनावरको अस्तित्व समेत रहेको बताए। ‘हामी जन्म्यौँ, हामीलाई पाल्नका लागि जनावरका रुपमा गाई जन्म्यो। हामीलाई पौष्टिक आहार दिन गाइको जन्म भयो। यो त लक्ष्मी हो। गाईबिना हाम्रो जीवन चल्दैन्’, उनले भने।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीले समुदायिक पशु–चौपायाको व्यवस्थापन गर्ने भन्दै जोडतोडका साथ मुद्दा बनाएका थिए। तर व्यवस्थापन गर्न नसक्दा धार्मिक तथा वैज्ञानिक महत्व बोकेको गाईगोरुको बिचल्ली नै भएको छ। जनस्तरबाट गौँ संरक्षणका लागि केही पहल भएपनि स्थानीय र प्रदेश सरकारले कुनै वास्ता नगरेको गुनासो गरिएको छ। धनगढीमा स्थापना गरिएका गौशालाहरु कमाइखाने भाँडो मात्र बनाइएको आरोप धनगढीका स्थानीय भक्त बहादुर थापाको छ। गौ संरक्षण नाममा गौशाला स्थापना गरेर नेतागिरी र षडयन्त्र गरेर कमाइखाने भाँडो बनाएको आरोप उनले लगाए। ‘गौशालाहरु नातेदार पाल्ने भाडोँ बनाइएको छ। गाइको अवस्था बिजोक छ’ उनले भने।
सनातन धर्ममै गाईको धार्मिक महत्वको प्रशंसा गर्दै संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। तर अहिले भने दुध खाएर गाई छोड्ने राक्षसी प्रवृति भित्रीएको गौँ संरक्षण समिति धनगढीकी उपाध्यक्ष रेखा चन्दले बताइन्। ‘गाई पालेर छोड्नेहरुले पनि गोवर्दन पूजाको दिन अर्काको घरमा घुइँचो लगाएको उनी बताउँछिन्। ‘दिँदासम्म दुध खायो त्यसपछि बिचल्लीमा पार्यो। अब अहिले पूजा गर्न गाई खोज्दै घर–घर जानेहरुको घुँइचो छ। मुखले मात्रै गौभक्ती गर्नेहरु थुप्रो छन्। तर गाईको महत्वबारे कोही बुझ्दैनन्’ उनले भनिन्।
उनले राज्यले पनि गौंसंरक्षणमा बेवास्ता गरेको बताइन्। उनले जनस्तरबाट तथा राज्यबाट गाई संरक्षण हुन आवश्यक रहेको बताउँदै भनिन्, ‘हिन्दु धर्ममा गाई, गहुँत गोबरबिना मान्छेको जिवन चल्दैनन्। गाई नेपाली राष्ट्रिय जनावर हो। तर राज्यबाटै यसको संरक्षणमा बेवास्ता भइरहेको छ।’