सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्राकृतिक फूलको उत्पादन कम, प्रदूषण बढाउने कृत्रिम फूल आयात हुँदै

२०७८ कार्तिक १८, ०५:३२ विन्दु चन्द

धनगढी: जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने वस्तु हो फूल। जसको छुट्टै सुगन्ध र आनन्द छ। रंगीचंगी प्राकृतिक फूलहरुको सुगन्ध नै बेग्लै हुन्छ। यो समय पनि फूलहरुकै  हो। तिहारका लागि मखमली लगायतका फूल आवश्यक हुन्छन्। तर सुदूरपश्चिम प्रदेशमा प्राकृतिक फूलको उत्पादन निकै कम छ। सुदूरपश्चिममा सिमित किसानले मात्रै पुष्प व्यवसाय गर्दै आएका छन्। 

गत वर्षहरुमा सिमित किसानले पुष्प खेती गर्दै आएपनि कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चौपट पार्‍याे। फेरि यष बर्ष लगाइएको फूलहरु कार्तिक पहिलो साता परेको वर्षाले सखाप पारिदिएको छ। डेढ कट्ठामा लगाएको फूल खेती डुबान हुँदा पुरै सखाप पारेको धनगढीका पुष्प व्यवसायी चन्द्रबहादुर दमाई बताउँछन्। उनले भने, ‘दुई वर्षदेखि हामी घाटामा छाैँ, लगानी सबै चौपट भयो। गत वर्ष कोरोनाले फूल खेर गयो यो वर्ष पनि ऋण निकालेर भएपनि फुल रोपेको थियो। सबै सखाप पार्‍याे।’ तर सरकारले क्षतिपूर्ति दिन बेवास्ता गरेको उनी बताउँछन्। 

हरेक कामकाजमा फूलहरु आवस्यक पर्दा पनि यसलाई बढावा दिन सरकरी पक्षबाट कुनै चासो नै नभएको दमाई बताउँछन्। गत वर्ष र यस वर्ष पुरै नोक्सानी व्यहोर्नुपर्यो। ‘लगानी डुब्यो, रोपेका फूल सबै कोरोनाका कारण भएको निषेधाज्ञाले खेर गयो। यष वर्षको फुल वर्षाले लग्यो’, उनले भने। दुई वर्षदेखि बिना खेती कर तिरिरहेको चन्द्रबहादुर दमाई बताउँछन्।

देशमा तीन तहको सरकार छ। तर पुष्प खेतीलाई भने कुनै पनि सरकारले प्राथमिकतमा नराखेको गुनासो गरिएको छ। सुदूरपश्चिम प्रदेशका पुष्प व्यवसायीले तीन तहका सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। 
प्रदेशमा सिमित संख्यामा पुष्प व्यवसायी भएपनि उनीहरुले सरकारबाट कुनै आर्थिक तथा प्राविधिक सहयोग नपाएको बताएका छन्। सरकारले पुष्प खेतीलाई कृषि नै नमान्ने गरेको गुनासो कैलालीका पुष्प व्यवसायी पुष्पराज पन्तको छ। उनी भन्छन्, ‘पुष्प खेतीलाई त सरकारले कृषिमै हालेको छैन जस्तो छ। अनुदान त कुनै पनि सरकारसँग छैन। पुष्प खेतीका लागि सरकासँग कुनै योजना पनि छैन। यसमा चाँसो पनि देखाउँदैन।’ 

उनले सरकारले अनुदानका कार्यक्रम ल्याए सुदूरपश्चिममै फूल खेतीको प्रचुर सम्भावना रहेको बताए। युवाहरुलाई आकर्षित गराएर स्वोरोजगार बन्न अनुदानका कार्यक्रमहरु ल्याउनुपर्ने किसानहरुले बताएका छन्। तिहारको समयमा सुदूरपश्चिममा प्राकृतिक फूलको उत्पादन नै शुन्य भएपछि भारतबाट कृत्रिम फूल आयात गरिएको छ। भारत तथा अन्य देशबाट आयात गरिएका कृत्रिम फूलले वातावरण तथा मानव स्वास्थ्यमा असर गर्ने देखिएको छ।

अहिले सुदूरपश्चिमका हरेक बजार तथा पसलहरुमा कृत्रिम फूल भरिभराउ देखिन्छन्। विभिन्न आकृतिमा बनेका बनावटी फूलहरुले वातावरण प्रदूषण बढ्ने जानकारहरु बताउँछन्। प्लाष्टिक कुहिन नै ५ वर्ष भन्दा बढी नै लाग्ने गर्छ। यसले प्रदुषण बढाउनुका साथै सहर बजार क्षेत्रको सौन्दर्यता समेत बिग्रीने धनगढीका इश्वर जोशीले बताए। ‘एक पटक यसलाई प्रयोग गरिन्छ फेरि फालिन्छ। यसले घर–आँगन तथा बजार क्षेत्रको सुन्दरतामा असर गर्छ भने प्रदूषण पनि फैलाउँछ’ उनले भने।  

तिहार बाहेक राजनीतिक दलहरुका कार्यक्रम, नेताहरुको स्वागत तथा सम्मान, सरकारी कार्यालयका कार्यक्रमहरुमा प्राकृतिक फूलको प्रयोग हुँदै आएको छ। तर कृत्रिम फूलको उत्पादन गर्ने किसानले भने सरकारबाट सहयोग पाएका छैनन्। तर कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले भने पुष्प व्यवसाय गर्नेहरुलाई कुनै कुराको कमी नहुने बताएका छन्। उनी भन्छन्, ‘गत वर्ष पनि हामीले ९ वटै जिल्लामा पुष्प खेती गर्नेहरुका लागि सूचना खोल्याैँ तर दुई जना बाहेक कोही पनि आएनन्। यो वर्ष भने बजेट छुट्याइएको छैन। पुष्प किसान नै नभएकाले बजेट पनि छुट्याइएन।’ पुष्प खेती गर्ने किसानका लागि प्रदेश अग्रसर रहेको उनले बताए।

सुदूरपश्चिम प्रदेशमा मखमली, सयपत्री, सुपारी लगायतका फूलहरुको उत्पादन हुन्छन्। प्रदेशमा उत्पादन भएका फूल निर्यात गर्न सकिन्छ। तर तीनै तहका सरकारहरुको बेवास्ताका कारण भारतबाट करोडौं मूल्य बराबरका प्लास्टिकका फूलको आयातमा प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस