सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेकबहादुर चोखाल स्मृति कपः वडा नम्बर ५ च्याम्पीयन

२०७८ कार्तिक १५, ०८:२३ खबर संवाददाता

धनगढी: दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ आदर्श युवा क्लबले जितेको छ। धनगढीमा भएको प्रतियोगिताको फाईनलमा वडा नम्बर ३ लाई फराकिलो अन्तरले हराउँदै वडा नम्बर ५ को आदर्श युवा क्लबले उपाधि जितेको हो।

सोमबार साँझ धनगढीको फल्याटल्याण्ड फुटसलमा भएको फाईनलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई १०–१ को फराकिलो अन्तरले हराएको हो।  यसअघि सोमबार नै भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली फाईनल पुगेका थिए। वडा नम्बर ५ ले सेमिफाईनलमा वडा नम्बर ४ लाई हराएको थियो भने वडा नम्बर ३ ले वडा नम्बर ७ लाई हराएको थियो। वडा नम्बर ३ ले सोमबार नै भएको अन्तिम क्वाटरफाईनलमा वडा नम्बर १ लाई किनारा लगाएको थियो।

दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेता बनेको वडा नम्बर ५ आदर्श युवा क्लबले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ भने, उपविजेता वडा नम्बर ३ ले नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ। पहिलो संस्करणमा पनि वडा नम्बर ५ स्टार सिटी विजेता बनेको थियो।

पहिलो संस्करणको उपविजेता वडा नम्बर १ फारवेष्ट पशुपति रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का कुवेर सिंह भएका छन्। उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का भरत जोशी, सर्वाधिक गोलकर्ता वडा नम्बर ५ का कमल देउवा र उदयमान खेलाडी वडा नम्बर १२ का सुरेन्द्र ढकाल भएका छन्। उनीहरुले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका छन्।

विजयी खेलाडीलाई एक समारोहका बीच धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले पुरस्कार वितरण गरेका छन्। आयोजक टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि मेयर ओडले खेलकुदको माध्यमबाट धनगढीलाई चिनाउने अभियान सञ्चालन गरिएको बताए। उनले खेलकुदको माध्यमबाट धनगढीलाई अगाडी बढाउन उपमहानगरपालिका सधै तयार रहेको पनि बताए।

समापन समारोहमा अखिल नेपाल फुटबल संघ कैलालीका अध्यक्ष मोहित शाह, मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्इक्ष तिर्थ पन्त लगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अभि मिडिया ईभेन्ट एण्ड स्पोर्टसको व्यवस्थापनमा सञ्चालन भएको थियो। दोस्रो संस्करणमा धनगढी र गोदावरीका गरी वडाका १८ वटा टीमहरुको सहभागीता रहेको थियो।

कमेन्ट लोड गर्नुस